“समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ”: डा.सुजाता पन्त

काठमाडौं, २५ कात्तिक । हाम्स हस्पिटलकी कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. सुजाता पन्तले महिलाहरूमा देखिने स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आग्रह गनुभएको छ । डा. पन्तका अनुसार स्तन तथा महिलासम्बन्धी इमेजिङ (Breast and Women’s Imaging)  उहाँको विशेषज्ञता क्षेत्र हो। उहाँले भन्नुभयो, “स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने सबैभन्दा सामान्य क्यान्सर हो। हरेक वर्ष करिब २० लाखभन्दा बढी महिला यस रोगबाट प्रभावित छन्, र नेपालमा पनि यसको प्रकोप तीव्र रूपमा बढ्दो छ।” उहाँका अनुसार क्यान्सर भन्नाले शरीरका कोषहरू अनियन्त्रित रूपमा बढ्दै जाने अवस्थालाई जनाउँछ। स्तनमा रहेका दूध बनाउने कोष (लोब्युल्स) र दूध बग्ने नली (मामरी डक्ट्स) अनियन्त्रित रूपमा बढ्न थाले स्तन क्यान्सरको सुरुवात हुन्छ। यदि समयमै नियन्त्रण गर्न नसकिएमा यो रगत वा लिंफाटिक माध्यमबाट शरीरका अन्य भागहरूमा पनि फैलिन सक्छ।
डा. पन्तका अनुसार, “स्तन क्यान्सर जोसुकै महिलालाई पनि हुन सक्छ, तर उमेर, वंशानुगत कारण, हर्मोनको असन्तुलन, सन्तान र स्तनपानसँग सम्बन्धित कारण, अस्वस्थ जीवनशैली, मोटोपन, धूम्रपान र मद्यपानले यसको जोखिम बढाउँछ।” उहाँले भन्नुभयो, “४० वर्षभन्दा बढी उमेरका महिलामा यो रोग सामान्य देखिए पनि पछिल्ला वर्षहरूमा कम उमेरका महिलामा पनि यसको प्रकोप बढ्दै गएको छ, र यस्तो अवस्थामा रोग बढी ‘एग्रेसिभ’ हुने र उपचार कठिन हुने सम्भावना हुन्छ।” डा. पन्तका अनुसार स्तन क्यान्सरका मुख्य लक्षणहरूमा स्तनमा नयाँ गाँठो महसुस हुनु, आकारमा परिवर्तन आउनु, छालामा बाक्लोपन वा रातोपन देखिनु, निप्पल भित्र पस्नु वा रगत निस्किनु, असामान्य दुखाइ र काखेमा गाँठो आउनु आदि पर्दछन्।
उहाँले महिलाहरूलाई हरेक महिना कम्तीमा एक पटक ब्रेस्ट सेल्फ–एग्जामिनेसन (स्व–परीक्षण) गर्न सुझाव दिनुभयो । त्यसका साथै २५ वर्षभन्दा माथिका महिलाले तीन वर्षमा एक पटक र ४० वर्षभन्दा माथिका महिलाले प्रत्येक वर्ष क्लिनिकल ब्रेस्ट एग्जामिनेसन गर्नुपर्ने बताउनुभयो । डा. पन्तले ब्रेस्ट क्यान्सर पत्ता लगाउनका लागि प्रयोग हुने इमेजिङ परीक्षणहरूबारे पनि जानकारी दिनुभयो । “सबैभन्दा संवेदनशील परीक्षण म्यामोग्राफी हो, जसले ब्रेस्टभित्र रहेका गाँठो वा अन्य असामान्य संरचनाहरू पत्ता लगाउन मद्दत गर्छ,” उहाँले भन्नुभयो । त्यस्तै अल्ट्रासाउन्ड र ब्रेस्ट एमआरआई परीक्षणले पनि ब्रेस्टको अवस्था बुझ्न सहयोग पुर्‍याउँछ। आवश्यक परेमा एफएनएसी वा बायोप्सी गरेर क्यान्सर सेल्सको पुष्टि गरिन्छ।
डा. पन्तका अनुसार, स्वस्थ जीवनशैली अपनाउनु नै ब्रेस्ट क्यान्सरबाट बच्ने सबैभन्दा राम्रो उपाय हो। उहाँले सन्तुलित आहार, नियमित व्यायाम, स्तनपान, र धूम्रपान–मद्यपानबाट टाढा रहन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “समयमै ब्रेस्ट क्यान्सर पत्ता लागेमा ९० प्रतिशत महिलाहरू पूर्ण रूपमा निको हुन्छन्। प्रारम्भिक चरणमा उपचार गर्दा स्तन जोगाउन पनि सकिन्छ, उपचार सस्तो र प्रभावकारी हुन्छ, र बिरामी तथा परिवार दुवैलाई आर्थिक र मानसिक रूपमा सहज हुन्छ।” अन्त्यमा उनले सबै महिलाहरूलाई सचेत रहन आग्रह गर्दै भन्नुभयो, “अर्ली डिटेक्सन सेभ्स लाइफ — समयमै रोग पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिने रोग हो।”

प्रकाशित मिति: २६ कार्तिक २०८२, मंगलबार  १२ : ३७  बजे