शिक्षा, स्वास्थ्य र फोहर व्यवस्थापनमा भारत–नेपाल साझेदारी: ११ परियोजना सञ्चालन हुने

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र फोहर व्यवस्थापनका क्षेत्रमा कार्यान्वयन हुने ११ वटा उच्च प्रभाव समुदाय विकास परियोजना (High-Impact Community Development Projects–HICDPs) का लागि आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । सम्झौतापत्रमा काठमाडौंस्थित भारतीय दूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र परियोजना कार्यान्वयन निकायहरूबीच हस्ताक्षर भएको हो ।

भारतीय दूतावासका अनुसार, यी परियोजनाहरू करीब एक अर्ब १६ करोड रुपैयाँ लागतमा सञ्चालन हुनेछन् । भारतले सन् २००३ देखि अहिलेसम्म नेपालभर ५९० वटा उच्च प्रभाव समुदाय विकास परियोजना सञ्चालन गरिसकेको छ । तीमध्ये ५०२ परियोजना शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सम्पर्क मार्ग र सार्वजनिक उपयोगिता क्षेत्रमा सम्पन्न भइसकेका छन् भने बाँकी परियोजनाहरू विभिन्न चरणमा कार्यान्वयन भइरहेका छन् ।

यी परियोजनाहरू नेपालका सातै प्रदेशमा फैलिएका छन् । छिमेकी मुलुकका रूपमा भारत र नेपालबीच दीर्घकालीन, बहुआयामिक र बहुक्षेत्रीय सहयोग सम्बन्ध रहँदै आएको छ । भारत सरकारद्वारा समर्थित यी परियोजनाहरूले नेपालमा जनशक्तिकरण र प्राथमिक क्षेत्रका पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

प्रकाशित मिति: २६ कार्तिक २०८२, मंगलबार  ०९ : २७  बजे