मधेस सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं, २४ कात्तिक । मधेस प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । रक्कीप्रसाद साह र सुजित यादवले रिट दायर गरेका हुन् ।

रिटको पेसी मंगलबारका लागि तोकिएको छ । उनीहरूले मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेशसभालाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्ण यादवले ७५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अर्को रिट सर्वोच्च लैजाने तयारी गरेका छन् ।

उपचारका लागि काठमाडौं जान्छु भनेर बिदा भएकी मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बीचबाटोमा नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

सरकार गठनको आह्वान नै नगरी नियुक्ति र शपथ गराएपछि विरोध सुरु भएको थियो । प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा सामान्य तोडफोडसहित तालाबन्दी समेत गरिएको छ ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, सोमबार  १७ : १४  बजे