मधेसमा चार सदस्यीय मन्त्रिमण्डल गठन

धनुषा । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । मुख्यमन्त्री यादवले शपथ लिए लगत्तै सोमबार एमाले, सङ्घीय समाजवादी र राप्रपाबाट एक एक जना मन्त्री नियुक्त गरेका हुन । मन्त्रिमण्डलमा एमालेबाट लखन दास, सङ्घीय समाजवादीबाट विमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री बनेका हुन् । मधेसमा सङ्घीय समाजवादी र राप्रपाको एक–एक सांसद रहेका छन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका जितेन्द्र सोनलले कात्तिक २३ गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठुलो दलको नाताले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । स्वास्थ्य उपचारका लागि भन्दै काठमाडौँ प्रस्थान गरेकी प्रदेश प्रमुख भण्डारीले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरी बर्दिबासको पानस होटलमा शपथ खुवाएपछि उनको आलोचना भइरहेको छ ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, सोमबार  ०९ : ४८  बजे