पूर्वमन्त्री आलामको निधनप्रति कांग्रेसद्वारा शोकप्रस्ताव पारित

काठमाडौँ, २२ कात्तिक ।  नेपाली कांग्रेसले पार्टीका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज बसेको पार्टीको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले शोकप्रस्ताव पारित गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं रौतहट जिल्लाका पूर्वसभापति ६३ वर्षीय आलमको गएराति काठमाडौँको सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । विसं २०१९ असार ५ गते रौतहटको राजपुर फरहदवा गाविस– ४ मा जन्मनुभएका आलमले विसं २०३६ देखि नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको थियो ।

राजनीतिक जीवनमा उहाँले पटकपटक मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभएको कांगेसले जनाएको छ । विसं २०५३ को उपनिर्वाचन, २०५६ को आम निर्वाचन, २०६४ को संविधानसभाको निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नं २ बाट उहाँ विजयी हुनुभएको थियो । विसं २०६७ मा सम्पन्न पार्टीको बाह्रौँ महाधिवेशनमा उहाँ नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएको थियो । नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलन र सङ्घर्षका क्रममा उहाँले पटकपटक जेल जीवन व्यतित गर्नुका साथै स्वर्गीय आलमले पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ ।

आमलको आत्माको चिर शान्तिको कामना गर्दै केन्द्रीय कार्यसमितिको आजको बैठकले एक मिनेट मौन धारण गर्ने निर्णयसमेत गरेको छ । बैठकले आलमको निधनमा विसं २०८२ कात्तिक २२, २३ र २४ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालमा झण्डा आधा झुकाउने, २०८२ कात्तिक २३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको मुख्यसचिव पौडेलले बताउनुभयो ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, शनिबार  १६ : ४२  बजे