इन्डोनेसियाको मस्जिदमा विस्फोट : ५० भन्दा बढी घाइते, शंकाको घेरमा १७ वर्षीय विद्यार्थी

जकार्ता । इन्डोनेसियाको राजधानी जकार्तास्थित एक विद्यालय परिसरमा रहेको मस्जिदमा शुक्रबारको नमाजका क्रममा भएको विस्फोटमा ५० भन्दा बढी मानिस घाइते भएका छन्। अधिकारीहरूले घटनामा संलग्न भएको आरोपमा १७ वर्षीय विद्यार्थीलाई शंकास्पद आक्रमणकारीको रूपमा पहिचान गरेका छन् ।

स्थानीय समयअनुसार करिब १२ : १५ बजे केलपा गाडिङ जिल्लाको एक विद्यालय परिसरभित्र यो घटना भएको थियो । घाइतेहरूमध्ये अधिकांश विद्यार्थी छन् र उनीहरूको शरीरमा गम्भीर चोट र पोलाइ भएको छ। इन्डोनेसियाका प्रहरी प्रमुख लिस्ट्यो सिगिट प्राबोवोका अनुसार शंकास्पद व्यक्ति पनि घाइते भएका छन् र घटनाको अनुसन्धान भइरहेको छ।

घटनास्थलबाट बम निष्कृय पार्ने टोलीले प्रमाण संकलन गरी अन्य विस्फोटक पदार्थ नभएको सुनिश्चित गरेको छ। केही विद्यार्थीहरूले शंका गरिएका विद्यार्थीलाई प्रायः साथीहरूले जिस्काउने (बुली गर्ने) गरेको र उनले घरेलु बम ल्याएको दाबी गरेका छन्।

अन्य विद्यार्थीहरूले उनलाई ‘एकान्तमा बस्ने’ र हिंसात्मक चित्रहरू बनाउने गरेको बताएका छन्। जकार्ता महानगर प्रहरीका एक उच्च अधिकारीले घटनास्थलमा बन्दुकजस्तै देखिने दुई वस्तु पनि फेला परेको पुष्टि गरेका छन्।

प्राप्त तस्बिरहरूमा एक वस्तु सब(मेसिन गनजस्तो देखिन्छ जसमा ‘ब्रेन्टन ट्यारेन्ट, वेलकम टू हेल’ लेखिएको छ। ब्रेन्टन ट्यारेन्ट २०१९ मा न्युजिल्याण्डको क्राइस्टचर्च मस्जिदमा भएको गोलीकाण्डका दोषी हुन्।

प्रकाशित मिति: २३ कार्तिक २०८२, शनिबार  ११ : ५२  बजे