मधेसमा तेस्रो सर्प महोत्सव हुँदै

जनकपुरधाम । मिथिला क्षेत्रको जैविक विविधता र सांस्कृतिक चेतनासँग जोडिएको नेपाल सर्प महोत्सव यो वर्ष पनि जनकपुरधाममा भव्य रूपमा आयोजना हुने भएको छ । देशको बदलिँदो राजनीतिक परिस्थितिका कारण सारिएको तेस्रो संस्करणको महोत्सव अब कार्तिक ३० र मङ्सिर १ गते धनुषाको मिथिला विहारी नगरपालिका–२ र ३ स्थित जनमुक्ति चोक नजिकै हुने आयोजकहरूले जनाएका छन् ।

मिथिला वाइल्डलाइफ ट्रष्ट र सेभ द लाइभ्सको संयुक्त आयोजनामा हुने यो दुई दिने महोत्सव ‘सर्पको महत्त्व बुझौँ, सहअस्तित्वलाई सम्मान गरौँ, संरक्षणमार्फत भविष्य सुरक्षित गरौँ’ भन्ने मूल नाराका साथ मनाइनेछ ।

आयोजक अध्यक्ष देव नारायण मण्डलका अनुसार सर्पप्रति समाजमा अझै पनि भय र अन्धविश्वास कायम छ, जसले संरक्षणमा चुनौती सिर्जना गरेको छ । उनले भने, “सर्प डस्ने मात्र होइन, वातावरणीय सन्तुलनको अभिन्न अङ्ग हो । महोत्सवले मानिस र सर्पबिचको सम्बन्धमा सकारात्मक सोच जगाउने प्रयास गर्नेछ।”

महोत्सवमा विद्यालयका विद्यार्थी, स्थानीय जनप्रतिनिधि, पशु चिकित्सक, वातावरणविद् र समुदायका अगुवाहरूको सहभागिता रहनेछ । कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सञ्चालन हुनेछ । महोत्सवमा जीवित सर्प प्रदर्शन, सर्प संरक्षण चित्र प्रदर्शनी, बालचित्र प्रतियोगिता, सर्प बचाउने टोलीको प्रदर्शन र सर्पदंश उपचारसम्बन्धी व्यवहारिक सत्र राखिनेछ ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, शनिबार  ११ : १६  बजे