मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिने

काठमाडौं : मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा १६८को उपधारा (४) बमोजिम आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।मधेसका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा सोनललाई गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

मुख्यमन्त्री सोनललाई उनको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थन रहेको छ । सरकारमा सहभागी रहेका जसपा नेपालका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा एकीकृत समाजवादी पार्टीका ७ जना र नागरिक उन्मुक्ति पार्टीका तथा नेपाल संघीय समाजवादी पार्टीका १ जना प्रदेश सभा सदस्य मुख्यमन्त्री सोनलको पक्षमा छन् ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, शनिबार  १० : ०९  बजे