बनेपा । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले अबको ६ महिनाभित्र यातायात व्यवस्था विभागलाई १२ लाख प्रति लाइसेन्स छापेर हस्तान्तरण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार बनेपास्थित आइटी पार्कमा आयोजित स्मार्ट लाइसेन्स छपाइको शुभारम्भ कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
‘लाइसेन्स नपाउनु यातायात विभाग वा केन्द्रको मात्र समस्या होइन, यो समग्र राज्यको गभर्नेन्स प्रणालीमाथिको प्रश्न हो,’ ढुङ्गानाले भने, ‘त्यसैले हामीले यसलाई समाधान गर्न उच्च गतिको मेसिनबाट छपाइ सुरु गरेका छौँ ।’
अब जारी हुने स्मार्ट लाइसेन्समा परम्परागत चिपको सट्टा बहुस्तरीय सुरक्षा भएको ‘इन्टेलिजेन्ट क्युआर कोड’ प्रयोग गरिनेछ । ढुङ्गानाका अनुसार यो साधारण क्युआर कोड नभई पाँच तहको सुरक्षा प्रणाली भएको ‘लेयर्ड क्युआर’ हो ।
‘यसमा आमनागरिक, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागका आधिकारिक व्यक्तिले मात्र पहुँच गर्न सक्ने छुट्टाछुट्टै तह छन्,ु उनले भने, ‘यो पूर्णरूपमा ‘एन्टी–काउन्टर फिट’ अर्थात् नक्कली बनाउन नसकिने प्रविधि हो ।’
केन्द्रले यातायात व्यवस्था विभागबाट डेटा प्राप्त हुनासाथ छपाइ सुरु गर्नेछ । हाल विभागले दैनिक ५०० प्रति लाइसेन्सको डेटा उपलब्ध गराउने बताएको छ। ढुङ्गानाले भने, ‘सुरुवातमा तीन महिनासम्म मासिक एक–एक लाखका दरले तीन लाख लाइसेन्स छाप्छौँ । त्यसपछिको तीन महिनामा बाँकी सबै ब्याक लग सकेर छ महिनामा १२ लाख प्रति हस्तान्तरण गर्नेछौँ ।’
केन्द्रले सवारी लाइसेन्स मात्र नभई नागरिकता, अन्तःशुल्क स्टिकर, हुलाक टिकट, लालपुर्जा र भिसा स्टिकर जस्ता महत्त्वपूर्ण कागजातहरू छाप्न पनि सक्षम रहेको जानकारी दिएको छ । स्मार्ट लाइसेन्स छपाइको शुभारम्भ सूचना प्रविधि तथा सञ्चार मन्त्री जगदीश खरेलले गरेका थिए ।








प्रतिक्रिया