जेनजी आन्दोलन नियोजित थियो : कानून मन्त्री अनिल कुमार सिन्हा

काठमाडौं, कात्तिक २१ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले भदौ २३ र २४ गतेका ‘जेनजी आन्दोलन’ का क्रममा भएका घटना आकस्मिक नभई नियोजित प्रकृतिका रहेको दाबी गर्नुभएको छ ।

शुक्रबार राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले आन्दोलनका क्रममा नहुनुपर्ने धेरै घटना घटेको उल्लेख गर्दै त्यसले देशको शान्ति–सुरक्षामा गम्भीर चुनौती उत्पन्न गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुरक्षा गर्नमा धेरै समस्याहरू छन्, जेनजी आन्दोलनमा धेरै हतियारहरू लुटिएका छन्, जेलबाट कैदीहरू भागेका छन् , जनताले अलिकति असुरक्षित महसुस गर्नु स्वाभाविक हो ।’

मन्त्री सिन्हाका अनुसार, आन्दोलनका क्रममा उत्पन्न अराजक अवस्थामाझ पनि सुरक्षाकर्मीहरूले भागेका कैदी र घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी अनुसन्धानको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन् । उहाँले थप्नुभयो, ‘हतियारसहितका अभियुक्तहरू दैनिक रूपमा पक्राउ भइरहेका छन्, यो चुनौतीपूर्ण अवस्थामाझ पनि सुरक्षाकर्मीले राम्रो काम गरेका छन् ।’

मन्त्री सिन्हाले जेनजी आन्दोलनका घटनामाथि अहिले गहन अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार, सरकारका तर्फबाट प्रहरी र सम्बन्धित निकायलाई अनुसन्धानमा कुनै अवरोध नआओस् भनेर आवश्यक निर्देशन दिइसकिएको छ ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सभा सञ्चालनका क्रममा देखिएका कानूनी जटिलता र अस्पष्टताबारे कानूनमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले भने, ‘राष्ट्रिय सभा सञ्चालनका लागि केही कानूनी जटिलता देखिएका छन्, मन्त्री स्वयं कानूनमन्त्री भएकाले र महासचिव पनि त्यस्ता विषयमा जानकार भएकाले यी असहजता र अस्पष्टताहरू सरकारले गम्भीरताका साथ समाधान गर्ने अपेक्षा राखिएको छ ।’

अध्यक्ष दाहालले राष्ट्रिय सभाले सरकारका नीति, कार्यक्रम र कानूनी पहलहरूलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै बैठक सञ्चालनका लागि आवश्यक पूर्वाधारमा सरकारले तत्काल ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

‘राष्ट्रिय सभा सरकारका अप्ठ्याराहरू सहजीकरण गर्ने थलो हो,’ उहाँले थप्नुभयो, ‘यसका बैठकहरू प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि आवश्यक भौतिक र प्राविधिक पूर्वाधार निर्माणमा सरकारले प्राथमिकता दिनु जरुरी छ ।’

प्रकाशित मिति: २२ कार्तिक २०८२, शुक्रबार  १३ : १५  बजे