रेसुंगा, २१ कात्तिक । सरकारले राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत देशभर बिहीबार र शुक्रबार दुई दिनसम्म बालबालिकाका लागि भिटामिन ‘ए’सँगै जुकाको औषधी खुवाउने अभियान सुरु गरेसँगै गुल्मीका १५ हजारभन्दा बढि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदैछ ।
दुई दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा छ महिनादेखि पाँच वर्ष उमेरसम्म बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक ताराबहादुर कार्कीले बताउनुभयो ।
जिल्लाका १२ स्थानीय तहमा रहेका १५ हजार ४३ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने लक्ष्य राखिएको छ । स्वास्थ्य कार्यालय गुल्मीको तथ्याङ्कअनुसार रेसुङ्गा नगरपालिकाका एक हजार ८२७ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने लक्ष्य राखिएको छ ।
मुसिकोट नगरपालिकाका एक हजार ८७७ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने बताइएको छ ।
कालीगण्डकी गाउँपालिकाका ९०२, मालिकामा एक हजार ३१९, मदानेमा एक हजार ३२४, छत्रकोटमा एक हजार १४०, गुल्मीदरबारमा एक हजार १३४, सत्यवतीमा एक हजार १५९, इस्मामा एक हजार १७०, धुर्कोटमा एक हजार १३४, चन्द्रकोटमा एक हजार १३० र रुरुक्षेत्र गाउँपालिकाका ९२७ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने लक्ष्य राखिएको छ ।
जिल्लाका ९३ वटै वडामा कार्यरत ९९७ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूले तोकिएका विभिन्न स्थनबाट भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने योजना बनाइएको छ ।








प्रतिक्रिया