एमाले भवन पुनर्निर्माण अभियानको नेतृत्व गर्ने प्रवासी नेपाली मञ्चको निर्णय

काठमाडौं, १३ कात्तिक । एमालेको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले जेनजी आन्दोलनका क्रममा ध्वस्त पारिएको नेकपा (एमाले) को केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि आम प्रवासी नेपालीबीच अभियान संचालन गर्ने भएको छ ।

मञ्चको २५औँ सचिवालयको बैठकले उक्त निर्णय गर्दै संसारभर छरिएका गैरआवासीय नेपालीहरूलाई सहयोग र सहभागिताका लागि अपिल गर्ने निर्णय गरेको उपसचिव तथा प्रचार बिभाग प्रमुख चानक पोखरेलले जानकारी दिए । प्रवासी नेपालीबीचको ऐक्यबद्धता र पार्टीप्रतिको प्रतिबद्धता स्वरूप यो अभियान सुरु गरिएको पोखरेलले बताए ।

त्यसैगरी, बैठकले प्रवासमै श्रमिक कोष गठन गर्ने निर्णय पनि गरेको छ । एमाले श्रमिकको पार्टी भएकाले अब विदेशमा रहेका नेपाली श्रमिकका समस्या समाधान र अधिकार संरक्षणका लागि पार्टीको प्रवासी संरचना सक्रिय रूपमा अघि बढ्ने पोखरेलको भनाइ छ ।

विशेषगरी मध्यपूर्वका मुलुकहरूमा कार्यरत श्रमिकहरूको हकहितका सवालमा कोषमार्फत सहयोग पु¥याइने उनले जानकारी दिए । विशेष गरेर ९५ प्रतिशत भन्दा बढी श्रमिकहरू मध्यपूर्वमा भएकोले मध्यपूर्व र मलेसियालाई मञ्चले विशेष ध्यान दिइरहेको छ ।

पोखरेलका अनुसार, श्रमिकका मुद्दा उठाउने र समस्या परेका नेपालीलाई सहयोग पु¥याउने एमालेको प्रमुख प्राथमिकता हुनेछ । उनले भने, “मञ्चले श्रमिकको पक्षमा नीति र व्यवहार दुवै तहमा काम गर्नेछ । प्रवासमा रहेका हाम्रा श्रमिक नेपालीहरूको सुरक्षाका लागि अब प्रवासी नेपाली मञ्च सक्रिय रुपमा उपस्थित हुनेछ ।”

प्रकाशित मिति: १४ कार्तिक २०८२, बिहिबार  १३ : २५  बजे