काठमाडौं, १२ कात्तिक । २४ भदौमा लुटिएको प्रहरीको पेस्तोल घर लगेर पड्काउने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालयले नुवाकोट घर भई नयाँ बजार बस्दै आएका २३ वर्षीय समिर श्रेष्ठ र काभ्रे घर भई क्षेत्रपाटी बस्दै आएका २३ वर्षीय एलेक्स नेपालीलाई पक्राउ गरेको हो ।
कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार, दुवै जनाले पेस्तोल लगेर पड्काएको पाइएको छ । ‘समिरले त नागर्जुन नगरपालिकामा रहेको घरको छतमा बसेर पेस्तोल पड्काएको भिडियोसमेत फेला परेको छ,’ उहाँले भन्नुभयो , ‘दुवै जनाले सोधपुछका क्रममा पेस्तोल पड्काएको स्वीकारेका पनि छन् ।’
उनीहरुबाट ५४ क्यालिबरको पेस्तोल एउटा, खाली म्यागजिन र १२ राउन्ड गोलीसमेत बरामद भएको छ । प्रहरीका अनुसार, सुरुमा इचँगुनारायण मन्दिर क्षेत्रमा हतियार देखाएर सर्वसाधारणमा त्रास सिर्जना गरेको भन्दै सूचना आएपछि प्रहरी खटिएको थियो । पछि उनीहरुको साथबाट हतियार मात्र बरामद भएन, जथाभावी पड्काउँदै हिँडेको भिडियोसमेत भेटियो ।दुवै जनाविरुद्ध हातहतियार तथा खरखजनासम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । पक्राउ परेकामध्ये समिरविरुद्ध यसअघि पनि अभद्र व्यवहारको कसुरमा मुद्दा चलिसकेको पाइएको छ ।








प्रतिक्रिया