विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाको लगातार दोस्रो जित : युएई ४ विकेटले पराजित

काठमाडौं, १२ कात्तिक । आईसीसी विश्वकप लिग–२ अन्तर्गत युएईमा भैरहेको त्रिदेशीय श्रृंखलामा अमेरिकाले लगातार दोस्रो जित निकालेको छ । हिजो भएको खेलमा अमेरिकाले घरेलु टोली युएईलाई अन्तिम ओभरमा ४ विकेटले हरायो ।जितका लागि २ सय १२ रनको लक्ष्य अमेरिकाले ४९ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो । उसका मिलिन्दकुमारले सर्वाधिक ७१ रन तथा कप्तान मोनांक पटेलले ५० रन बनाए । त्यसअघि पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो । उसका हर्षित कौशिकले सर्वाधिक ५३ रन जोडे ।अमेरिकाले आइतवार भएको खेलमा नेपाललाई १ सय ६ रनले हराएको थियो । अमेरिका २२ खेलमा ३२ अंकसहित तालिकाको शीर्षस्थानमा छ । १७ खेलमा ६ अंक रहेको युएई पुछारमा छ । नेपाल १७ खेलमा १२ अंकसहित सातौँ स्थानमा छ । नेपाल र युएईबीच भोलि खेल हुनेछ । नेपाल, अमेरिका र युएईबीच अहिले श्रृंखला चलिरहेको हो ।

प्रकाशित मिति: १३ कार्तिक २०८२, बुधबार  ०७ : १६  बजे