काठमाडौं, ११ कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन सम्बन्धी लुटपाट, आगजनी र विध्वंसका घटनामा जोसुकै संलग्न भए पनि कारबाही हुनुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन् ।’
पोखरेलले ती घटनामा संलग्न सबैलाई कानूनी दायरामा ल्याउनुपर्ने बताएका हुन् । ‘राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन्, सबैलाई कडा कारबाही गरौँ, देश जलिरहेको बेला आरोपप्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ’, उनले भनेका छन् ।
उनले हिंसाका घटनाप्रति स्पष्ट दण्ड र न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । जेन–जी आन्दोलनका क्रममा भएको क्षति र सवारीसाधन, व्यापारिक प्रतिष्ठान तथा सार्वजनिक सम्पत्तिमा पुगेको नोक्सानीलाई लिएर अहिले कारबाहीका लागि दबाब बढिरहेको छ । आन्दोलनका क्रममा विध्वंसमा संलग्न भएको भन्दै कलाकारहरूमाथि पनि छानबिन हुनुपर्ने आवाज बढिरहेको छ ।








प्रतिक्रिया