हेलिकप्टरमै शिशुको जन्म, अस्पताल नपुग्दै मृत्यु

सुर्खेत । कालिकोटको दुर्गम क्षेत्रबाट आकस्मिक उद्धार गरी सुर्खेत ल्याउँदै गर्दा हेलिकप्टरमै जन्मिएकी शिशुको कर्णाली प्रदेश अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । अस्पतालका चिकित्सकहरूका अनुसार अस्पताल पुर्‍याउँदासम्म शिशुको मृत्यु भइसकेको थियो । रक्तस्रावको समस्या भएपछि कालिकोटको तिलागुफा नगरपालिका—९, की २० वर्षीय अबिसा खत्रीलाई सोमबार बिहान ९ बजेतिर नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइँदै थियो ।

कर्णाली प्रदेश अस्पतालका वरिष्ठ नर्सिङ अधिकृत कल्पना थापाका अनुसार, अबिसालाई राति १ बजेदेखि नै रक्तस्राव भएको थियो । परिवारले उनलाई सोमबार बिहानै गाउँको चिलखाया स्वास्थ्य संस्थामा लिए । तर, त्यहाँ अवस्था गम्भीर देखिएपछि कर्णाली प्रदेश अस्पताल रिफर गरिएको थापाले बताइन् । सुत्केरी व्यथाले बेस्सरी च्यापेपछि खत्रीले हेलिकप्टरमै शिशु जन्माएकी थिइन् ।

बिहान ९ बजेर ५० मिनेट जाँदा हेलिकप्टरमै अबिसाले शिशु जन्माएको वरिष्ठ नर्सिङ अधिकृत थापाको भनाइ छ । ‘शिशु जन्माएपछि चिच्याएको थियो भनेर भन्नुभएको छ,’ उनले भनिन्, ‘ तर, १० बजेर ३० मिनेटमा कर्णाली प्रदेश अस्पतालमा आइपुग्दा शिशु जीवित थिएनन् ।’ चिकित्सकले शिशुलाई मृत घोषणा गरेका थिए ।

थापाका अनुसार, अबिसाको गर्भ २४ हप्ता ६ दिनको थियो । २४ हप्ताको शिशुलाई बचाउन गाह्रो हुन्छ, त्यसमाथि रक्तस्राव र हेलिकप्टरमै जन्मिएकाले जीवित रहने सम्भावना पनि कमै हुने उनको भनाइ छ । शिशुको ज्यान गए पनि आमा अबिसाको भने स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । उनी अहिले कर्णाली प्रदेश अस्पतालमा चिकित्सकको निगरानीमा छिन् ।

प्रकाशित मिति: ११ कार्तिक २०८२, सोमबार  १५ : ५३  बजे