काठमाडौँ । दक्षिणी चीन सागरमा एकै दिन अमेरिकाको एक हेलिकोप्टर र एक लडाकु विमान दुर्घटना भएको छ । अमेरिकी अधिकारीहरूका अनुसार पहिलो घटना स्थानीय समय अनुसार दिउँसो २ः२५ बजे भएको थियो । ‘ब्याटल क्याट्स’ स्क्वाड्रन–७३ मा आवद्ध एमएच–६० आर सी हक हेलिकोप्टर अमेरिकी विमानवाहक पोत ‘यूएस निमिट्ज’बाट अप्रेसनका क्रममा दुर्घटनाग्रस्त भएको हो ।
क्यारिअर स्ट्राइक ग्रुप–११ को खोज र बचाउ दलले तीव्र कारबाही गर्दै हेलिकोप्टरमा सवार चालक दलका तीन सदस्यको उद्धार गरेको थियो । दिउँसो ३ः१५ बजे ‘फाइटिङ रेडकक्स’ स्क्वाड्रन–२२ को एउटा एफ÷ए–१८ एफ हरनेट लडाकु विमान पनि सोही पोतबाट उडान भर्नासाथ समुद्रमा खसेको थियो । यो लडाकु विमानका दुवै पाइलट प्यारासुटको मद्दतमा बाहिर निस्किन सफल भएका थिए । उनीहरूलाई पनि सुरक्षित उद्धार गरिएको जनाइएको छ ।
अमेरिकी नौसेनाका अनुसार दुवै दुर्घटनामा उद्धार गरिएका चालक दलका पाँचै जनाको अवस्था स्थिर छ । उनीहरूलाई चिकित्सकीय जाँचका लागि पठाइएको नौसेनाले जनाएको छ । दुवै दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

                    
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                
            






प्रतिक्रिया