ट्रम्पको उपस्थितिमा थाइल्यान्ड र कम्बोडियाले गरे ‘शान्ति सम्झौता’मा हस्ताक्षर

काठमाडौं, ९ कात्तिक । थाइल्यान्ड र कम्बोडियाले आइतबार क्वालालम्पुरमा सैन्य संघर्ष समाप्त गर्न शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुल र कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले संयुक्त ‘शान्ति सम्झौता’ मा हस्ताक्षर गरेका हुन् । ट्रम्पले शान्ति सम्झौताका लागि मध्यस्थता गरेका थिए ।

थाइल्यान्ड र कम्बोडियाबीच एउटा मन्दिर विवादलाई लिएर पाँच दिनसम्म युद्ध चलेको थियो । जसमा ४८ जनाको मृत्यु भएको थियो । यसलाई समाप्त गर्नमा ट्रम्पको ठूलो भूमिका थियो । हस्ताक्षरपछि ट्रम्पले भने, “जसलाई मानिसहरूले असम्भव मानिरहेका थिए, त्यसलाई मैले सम्भव तुल्याएको छु ।” ट्रम्पले जुलाईमा थाइल्यान्ड र कम्बोडियाबीच भएको युद्धका दौरान धेरै फोन संवाद भएका र उनको प्रशासनले यस युद्धलाई रोकिदिएको बताएका थिए ।

थाइल्यान्ड–कम्बोडिया युद्धविराम सम्झौतापछि अमेरिकाले थाइल्यान्ड र कम्बोडियासँग व्यापार सम्झौताहरूमा हस्ताक्षरका लागि दस्तावेज उनीहरूलाई सुम्पेको छ । यसअघि ट्रम्प आज बिहान क्वालालम्पुर एयरपोर्टमा अवतरण गरेका थिए । यहाँ मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले रेड कार्पेटमा उनको स्वागत गरेका थिए । यस दौरान ट्रम्पले स्थानीय कलाकारहरूसँग नृत्य पनि गरेका थिए ।

ट्रम्प २०१७ पछि पहिलो पटक यस सम्मेलनमा सहभागी हुन लागेका हुन् । ट्रम्पले आज मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग द्विपक्षीय बैठक गर्नेछन् । मलेसियाको राजधानी क्वालालम्पुरमा आजदेखि आसियान शिखर सम्मेलनको सुरुवात हुनेछ । यो शिखर सम्मेलन दक्षिण–पूर्वी एसियाका १० देशहरूको ठूलो मञ्च हो । जहाँ व्यापार, सुरक्षा, शिक्षा र संस्कृति जस्ता मुद्दाहरूमा कुराकानी हुनेछ । यस वर्षको आसियान शिखर सम्मेलनको नारा ’समावेशिता र दिगोपन’ रहेको छ ।

प्रकाशित मिति: १० कार्तिक २०८२, आइतबार  १३ : ४३  बजे