काठमाडौँ, ९ कात्तिक । नेकपा (एमाले) का नेता तथा पूर्व उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरको गुण्डुमा निर्माण हुन लागेको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासका लागि कुनै पनि प्रकारको चन्दा संकलन नगरिने बताउनुभएको छ । जेन–जी आन्दोलनका क्रममा ओलीको निजी निवास जलेपछि गुण्डुमा नयाँ घर निर्माण गर्ने पहल भइरहेको सन्दर्भमा केही सञ्चारमाध्यममा चन्दा संकलन भइरहेको समाचार आएको भन्दै नेता बस्नेतले शनिबार साँझ सामाजिक सञ्जालमार्फत यस्तो स्पष्टीकरण दिनुभएको हो । उहाँले लेख्नुभएको छ , ‘ओली निवास निर्माणमा चन्दा उठाइँदैन। गुण्डुबासीहरूको साझा भावना र सम्मानका प्रतीकका रूपमा गुण्डुबासीकै हातबाट, गुण्डुबासीकै मनबाट यो निवास बन्नेछ।’ उहाँले यसलाई गाउँकै आफ्नै पहल भएको बताउनुभयो ।
केही व्यक्तिहरूले भावनात्मक रूपमा सहयोग गर्ने इच्छा देखाएको भए पनि चन्दा उठाउने कुनै योजना नरहेको उहाँले स्पष्ट पर्नुभएको छ। ‘कतिपय साथीहरूले भावनात्मक हिसाबले चन्दा दिन्छु भन्नुभएको छ, तर चन्दा उठाउने कुनै योजना छैन। कसैसँग पनि चन्दा उठाइँदैन,’ उहाँले लेख्नुभएको छ, ‘यो हाम्रो आत्मीयता, स्नेह र गौरवको प्रतीक हो।’ जेन–जी आन्दोलनका क्रममा भक्तपुरस्थित आफ्नो निजी निवासमा आगजनी भएपछि एमाले अध्यक्ष ओली हाल गुण्डुमा भाडाको घरमा बस्दै आउनुभएको छ ।








प्रतिक्रिया