काठमाडौं, ८ कातिक । अनुमतिबिना काठमाडौंको माइतीघरमा शुक्रबार प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको ७६ जनामध्ये एकजनाको साथबाट बन्दुक स्वरुपका काठ फेला परेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार भिमकुमार राई नाम गरेका युवाको साथबाट ५ थान बन्दुक स्वरुपका काठ बरामद भएपछि उनलाई थप अनुसन्धानका लागि राखेर अन्य ७५ जनालाई छाडिएको छ ।
छाडिएकाहरुलाई प्रदर्शनको आयोजक रहेको बताउने दिनेश खनाललाई भने प्रहरीले जिम्मा लगाएको छ । पक्राउ परेकामध्ये ११ जना बालबालिका रहेको एसपी भट्टराईले बताउनुभयो । जेन-जी युनाइटेड परिवर्तन नामक संस्थाको नाममा प्रशांसनामा अनुमति नै नलिएर कार्यक्रम आयोजना गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
एसपी भट्टराईले गृह मन्त्रालयले जेन-जी प्रदर्शन र मागका विषयमा छलफल गर्न बताएको अवस्थामा बालबालिकालाई प्रयोग गरेर यस्ता कार्यक्रम भएको हुँदा अभिभावक पनि सचेत हुन आवश्यक रहेको बताउनुभयो ।
‘स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेन-जी समूहबीच सम्भावित मुठभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि नियन्त्रणमा लिएर साँझ छाडिएको छ,’ उहाँले भन्नुभयो,‘यो समूहले दुई दिनयता प्रदर्शन गर्दै आएका थिए ।’
आज नियन्त्रणमा लिइएकामध्ये ४० पुरुष र ३६ महिला थिए । तर, जेन-जी युनाइटेड परिवर्तनका अगुवा मदन कार्कीले आफूहरुले स्वतन्त्र रुपमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति माग्दा नपाएको बताउनुभएको छ ।
माइतीघरमा सहभागी भएको उक्त समूहले जेन–जीहरु एक हुनुपर्ने र जेन-जीको मुख्य मागहरु शून्य भ्रष्टाचार, प्रत्यक्ष निर्वाचन प्रणाली, उत्तरदायी राजनीतिलगायत पूरा नभएको भन्दै प्रदर्शन गरेको थियो ।








प्रतिक्रिया