प्रदीप अधिकारीलाई आक्रमण गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । कात्तिक ३ मा अपरिचित व्यक्तिहरूले सातदोबाटोबाट आफ्नो घरतर्फ जाँदै गर्दा अधिकारीलाई आक्रमण गरेका थिए ।

पक्राउ पर्नेमा काभ्रे घर भएका कोकिलबहादुर शाह, रामेछापको गेलु घर भएका ३१ वर्षीय सिर्जन अधिकारी र सर्लाही घर भएका ३५ वर्षीय हेम तामाङ छन् । आरोपीहरुलाई कोटेश्वर र ललितपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए ।

अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गए राति शाह र अधिकारीलाई पक्राउ गरेको हो । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले हेम तामाङलाई पक्राउ गरेको हो । आरोपीहरूलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । आफूमाथि आक्रमण भएको भन्दै अधिकारीले सुरक्षा निकायमा जानकारी गराएपछि प्रहरीले त्यसबारे अनुसन्धान थालेको थियो ।

प्रकाशित मिति: ६ कार्तिक २०८२, बुधबार  १४ : ४३  बजे