घोषित चुनाव समयमै सम्पन्न गर्न गृहमन्त्रीलाई कलाकारको सुझाव

काठमाडौं, ४ कात्तिक । नेपाली फिल्म क्षेत्रका केही चर्चित कलाकारहरुले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेका छन् । कार्म, निश्चल बस्नेत, सुरक्षा पन्त, ऋचा शर्मा, दिब्यदेव पन्त लगायतले गृहमन्त्री अर्याललाई सिंहदरबारस्थित मन्त्रालयमा भेटेका हुन् ।

आइतबार भएको भेटमा मन्त्री अर्याललाई २१ फागुनमा घोषित चुनाव समयमै सम्पन्न गर्न, जेनजी आन्दोलनका शहीदलाई न्याय दिन सुझाव दिइएको अभिनेता कार्मले बताए । कर्माले भने, ‘गृहमन्त्रीलाई अहिलेको समसामयिक परिस्थितिमा केही सुझावहरू दिएका हौँ ।

विशेष गरी २१ फागुनमा तोकिएको निर्वाचन समयमै सम्पन्न गर्न र जेनजी आन्दोलनका शहीदहरूलाई न्याय दिन माग गरेका छौँ ।’ भेटपछि गृहमन्त्री अर्यालले पनि सामाजिक सञ्जालबाट फोटो राख्दै लेखेका छन्, ‘आभारी छु, सल्लाह सुझाव र ऐक्यबद्धताको लागि ।’

यसैबीच, पछिल्ला दिनमा फिल्म निर्देशक समेत रहेका निश्चल बस्नेत काठमाडौंका मेयर बालेन साह, रास्वपा परित्याग गरेकी सुमना श्रेष्ठ र हामी नेपालका सुधन गुरुङलाई समेटेर नयाँ राजनीतिक दल गठन गर्न सहजीकरण गरिरहेको चर्चा छ ।

प्रकाशित मिति: ५ कार्तिक २०८२, मंगलबार  ११ : २१  बजे