गृहमन्त्रीलाई विश्वकर्माको कटाक्ष : जय होस् विचरा जेनजी सरकार

काठमाडौँ । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गृहमन्त्री ओमप्रकाश अर्याललाई भागेका कैदी बन्दी, लुटिएका हतियार र प्रहरीका बर्दी अहिले नखोज भन्ने चुनावमा प्रयोग नगर्ने प्रतिबद्धता दलहरूले गरिदिनुपर्ने भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा प्रचार विभाग प्रमुख विश्वकर्माले आक्रमण, आगजनी, तोडफोड र लुटपाटको बलमा आफै मन्त्री हुनेले त्यस्तो भन्न नसुहाउने उल्लेख गरेका छन् ।

‘यिनी गृहमन्त्री नै हुन् ? कि यिनको मुखबाट अरू कोही बोल्दै छ ? आक्रमण, आगजनी, तोडफोड र लुटपाटको बलमा आफै मन्त्री हुने,’ विश्वकर्माले फेसबुकमा लेखेका छन्, ‘भागेका कैदीबन्दी, लुटिएका हतियार र प्रहरीका बर्दी अहिले नखोज भन्ने अनि चुनावमा प्रयोग नगर्ने प्रतिबद्धताचाहिँ दलहरूले गरिदिनु पर्ने ? विचरा जय होस् जेनजी सरकार ।’

केन्द्रीय सुरक्षा समितिको आइतबार बसेको बैठकले जेनजी आन्दोलनका क्रममा हराएका हतियारहरू सङ्गठित गिरोहमा पुग्न नदिने निर्णय गरेको थियो । बैठकपछि गृहमन्त्री अर्यालले सञ्चारकर्मीहरूलाई राजनीतिक दलहरूले पनि कैदीबन्दी र हतियार प्रयोग गर्दैनौँ भनी स्वघोषणा गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति: ३ कार्तिक २०८२, आइतबार  १७ : ४८  बजे