काठमाडौँ, २ कात्तिक । गएको असोज १८ गतेको वर्षापछि पहिरोले अवरुद्ध मेची राजमार्ग सञ्चालनमा आएको छ । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ इलाम–राजदुवाली सडकखण्ड मर्मतपछि गएराति खुलेको हो ।
राजमार्गमा गाडी चल्न थालेका इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो । सडक डिभिजन कार्यालय इलाम, स्थानीयबासिन्दा र सुरक्षाकर्मीको लगातार दुई हप्तासम्मको प्रयासपछि सडक खुलेको डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताउनुभयो ।
पहिरो क्षेत्रमा ठूला गाडीहरु एकपटकमा एउटा मात्र सञ्चालन गरेर सहयोग गरिदिन उहाँको आग्रह छ । मेची राजमार्ग सञ्चालन भएपछि इलामसहित, पाँचथर र ताप्लेजुङबाट झापा जान तथा झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ पुग्ने यात्रु तथा गाडीलाई सहज भएको छ ।
मेची राजमार्ग अवरुद्ध हुँदा यसअघि साना गाडीलाई वैकल्पिक सडकका रूपमा बुधबारेबाट तिल्केनी–सिमलगोलाई सडकखण्ड सञ्चालन गरिएको थियो । मेची कोरिडोर (केचना–कञ्चनजङ्घा सडक)भने अझै सञ्चालनमा आउन सकेको छैन । पुवाखोलाको बेलिब्रिज बाढीले बगाउनुका साथै बेलासेमा रहेको माईखोलाको पक्की पुल भाँचिएपछि यो क्षेत्रमा सडक अवरुद्ध छ ।








प्रतिक्रिया