काठमाडौं, २९ असोज । भदौ २३ र २४ गते सत्तापलटसम्म पुग्नेगरी चर्किएको जेनजी आन्दोलन ले देशको राजनीतिमा ठूलो प्रभाव पारेको थियो। तर, अहिले सोही नाममा विभिन्न स्वार्थ समूह र व्यक्तिहरू सक्रिय हुँदै अराजक गतिविधि सञ्चालन गर्न थालेका छन्।
यी गतिविधिले सरकारी निकायका कर्मचारी, जनप्रतिनिधि र निजी क्षेत्रका अधिकारीहरूमा त्रास सिर्जना भएको देखिन्छ।
सेयर मागदेखि धम्कीको श्रृंखला
जेनजी आन्दोलनपछिका घटनाले आन्दोलनको मर्ममाथि प्रश्न उठाएका छन्।
कम्पनीहरूमा सेयर माग्ने, कार्यालयहरूमा धम्की दिने र “आफू नै राज्य हुँ” भन्ने व्यवहार देखाउने समूहहरू सक्रिय छन्।
सबैभन्दा पहिले सिन्धुपाल्चोकको भोटेकोशी पावर कम्पनीमा यस्तो गतिविधि देखियो।
‘भोटेकोशी जेनजी ग्रुप’ नामक समूहले कम्पनीमाथि दबाब दिँदै आयोजना एक महिनासम्म रोक्न बाध्य बनायो। अन्ततः कम्पनीले १० प्रतिशत सेयर “जेनजी पब्लिक इन्भेष्टमेन्ट लिमिटेड” लाई दिने सहमति गर्यो।
सो सम्झौतामा जेनजी पक्षका अध्यक्ष फुर्पा शेर्पा र कम्पनीका सचिव विश्वमोहन कर्माचार्यले हस्ताक्षर गरेका छन्।
यो घटनाले आन्दोलनका नाममा अराजक दबाब सिर्जना गर्ने गलत नजीर कायम गरेको विश्लेषकहरूको मत छ।
अर्जुन शाही समूहको धम्कीपूर्ण सक्रियता
पछिल्लो समय अर्जुनबहादुर शाही नेतृत्वको समूह सरकारी र सार्वजनिक कार्यालयहरूमा पुगेर धम्कीपूर्ण गतिविधि गर्दै आएको छ।
शाहीले आफूलाई जेनजी अभियन्ता भन्दै नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेर “अनुगमन”को नाममा पदाधिकारीमाथि दबाब दिएका छन्।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँगको भेटमा उनले ‘राजीनामा दिनुस्’ भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेको भिडियो सार्वजनिक भएको छ।
त्यस्तै, वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पनि ‘घरबाट थुतेर ल्याउने’ चेतावनी दिएको आरोप छ।
शाहीमाथि ठगी, बैंकिङ कसुर र चेक बाउन्सजस्ता आपराधिक मुद्दा दर्ता भइसकेका छन्।
स्रोतका अनुसार आन्दोलनअघि नै उनी धरौटीमा रिहा भएका थिए।
विश्वविद्यालय र संघसंस्थामा अराजकता
जेनजीको नाममा विश्वविद्यालय र संघसंस्थामा समेत अराजकता मच्चिने क्रम सुरु भएको छ।
हालै गण्डकी विश्वविद्यालयमा केही युवाहरू पुगेर रजिष्ट्रार कैलाश तिमिल्सिनालाई कार्यालयमै धम्की दिएका थिए।
“तपाईं भ्रष्टाचार र मनपरी गर्नुहुन्छ, एक मिनेटमै राजीनामा दिनुस्,” भन्दै उनीहरूले अन्य कर्मचारीलाई बाहिर निकालेर कार्यालयमै हप्कीदप्की गरेका थिए।
त्यो समूहका सदस्यहरू विजय पराजुली, निर्दोश विक्रम पौडेल र डिफान भुजेल लगायत रहेका थिए। उनीहरूमध्ये केहीले विगतमा प्रहरी हिरासतसमेत भोगेका थिए।
एन्फामा पनि अराजक प्रदर्शन
अखिल नेपाल फुटबल संघ ९एन्फा० कार्यालयमा पनि जेनजीको नाममा समूह पुगेको छ।
एन्फाका महासचिव किरण राईलाई ज्ञापनपत्र बुझाउने क्रममा केही युवाहरूले अभद्र व्यवहार गरेका थिए।
सो समूहमा रहेका ३० वर्षीय अनिश कार्कीमाथि बैंकिङ कसुरको मुद्दा दर्ता रहेको खुलेको छ।
एन्फामा पुगेका ती युवाहरूले आफूहरू जेनजी अभियन्ता भएको दाबी गर्दै संस्थाको कामकारबाहीप्रति असन्तुष्टि जनाएका थिए।
जेनजी अगुवाहरूको चेतावनी
जेनजीका मूल अभियन्ताहरूले यस्ता अराजक क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको मर्म नबिगार्न आग्रह गरेका छन्।
अभियन्ता रिजन राना मगरका अनुसार, “हाम्रा ऐन–कानुन जीवित छन्, त्यसबाहिर गएर धम्की र हप्कीदप्की गर्नु गलत हो।”
उनले भने, “आफू नै सर्वेसर्वा ठान्ने प्रवृत्ति गलत हो। कानुनी र संवैधानिक सीमाभित्र रहेर माग राख्नुपर्छ।”
रानाले सरकारलाई पनि संयम र कानुनी कडाइका साथ यस्ता गतिविधि रोक्न आग्रह गरेका छन्।
जेनजीको नाममा बढ्दैछ धाकधम्की, आन्दोलनको मर्ममै प्रश्न
गृहमन्त्रालयले जेनजीको नाममा धम्की, चन्दा असुली वा हिंसात्मक गतिविधि गर्ने समूहहरूलाई नियन्त्रणमा लिने तयारी गरेको जनाएको छ।
अधिकार र सुधारका नाममा सुरु भएको आन्दोलनले अहिले भय र भ्रम फैलाउने दिशातर्फ मोडिएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
जेनजी आन्दोलनले परिवर्तनको चेतना जगाए पनि त्यसकै नाममा भइरहेको दुरुपयोगले सुशासन र कानुनी शासन माथि नै प्रश्न उठाएको छ।








प्रतिक्रिया