काठमाडौं, २९ असोज । अखिल नेपाल फुटबल संघ (एन्फा) पुगेर जेनजीका नाममा ज्ञापनपत्र बुझाउने र युवाहरूलाई धर्नामा सहभागी गराउने युवा आफैँ फौजदारी कसुर भोगिरहेका युवा भएको खुलेको छ । सोमबार केही युवाले एन्फाको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै धर्ना तथा ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाउनेमध्येका एक ३० वर्षीय अनिश कार्की बैंकिङ कसुरमा मुद्दा भोगेका आरोपित भएको खुलेको हो । स्थायी घर दोलखाका कार्की हाल काठमाडौंको कागेश्वरी मनोहरा बस्दै आएका छन् । उनीविरुद्ध काठमाडौं प्रहरीमा मनोहराकै कविराज गिरीले बैंकिङ कसुरमा उजुरी दिएको खुलेको हो ।
गिरीले प्रहरीलाई दिएको उजुरी अनुसार कार्कीले घर व्यवहार मिलाउने भन्दै पटकपटक गरेर पाँच लाख ३० हजार रुपैयाँ लिएर चेक दिएको तर चेक नसाटिएको उल्लेख गरेका छन् ।बैंकमा रकम नभएको चेक दिएर बैंकिङ कसुर गरेकोबारे पटकपटक जानकारी गराउँदा पनि नियतवश नै आफूलाई ठगी गरेको उल्लेख गरेका छन् । कार्कीसहित युवाहरूले सोमबार एन्फा महासचिव किरण राईलाई ज्ञापनपत्र बुझाएका थिए ।यसअघि, कार्यालय अनुगम नगर्ने तथा ज्ञापनपत्र बुझाउने नाममा जेनजीको समूह नै लिएर नागरिक उड्डयन प्राधिकरणको कार्यालयका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग्नेदेखि अभद्र शैलीमा प्रस्तुत हुने अर्जुनबहादुर शाही पनि फौजदारी कसुरका आरोप रहेको खुलेको थियो ।अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा १० वटाभन्दा बढी उजुरी परेको प्रहरीको रेकर्डबाट खुलेको हो । नागरिक उड्डयन प्राधिकरण पुग्नुअघि शाहीको समूह नेपाल वायुसेवा निगमदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत पुगेका थिए ।जेनजीको नाममा पछिल्लो समय विभिन्न युट्युबरहरूलाई सरकारी कार्यालय बोलाउने र कर्मचारीमाथि अभद्र शैलीमा प्रस्तुत हुने क्रम बढेको छ ।









प्रतिक्रिया