किभ । रुसले सोमबार राति युक्रेनको दोस्रो ठुलो सहर खार्किभमा शक्तिशाली ग्लाइड बम र ड्रोन आक्रमण गर्यो । आक्रमणमा एउटा अस्पताललाई निशाना बनाइएको थियो । यस आक्रमणमा सात जना घाइते भएका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आफ्ना अमेरिकी समकक्षी डोनल्ड ट्रम्पसँग भेट्न वासिंगटन जाँदै गर्दा यो आक्रमण भएको हो । जेलेन्स्कीले अमेरिकाबाट थप सैन्य सहयोग लिन सक्ने अनुमान गरिएको छ । खार्किभमा रहेको सहरको मुख्य अस्पताल निशाना बनाइएपछि ५० जना बिरामीलाई तुरुन्तै सुरक्षितस्थलमा सारिएको क्षेत्रीय प्रमुख ओलेह सिनेहुबोभले बताए ।
आक्रमणको मुख्य निशाना ऊर्जा पूर्वाधार रहेको जेलेन्स्कीले बताए, तर कुन कुन स्थानमा आक्रमण भयो त्योचाँहि उनले बताएनन् । रूसले युक्रेनी पावर प्लान्ट, पावर लाइन र प्राकृतिक ग्यास स्रोतहरूमा हरेक दिनरात आक्रमण गरिरहेको र यो लामो दूरीको आक्रमण रणनीति फेब्रुअरी २०२२ देखि चलिरहेको जेलेन्स्कीले टेलिग्राममा भनेका छन् । यसको उद्देश्य युक्रेनको बिजुली आपूर्तिलाई अवरुद्ध गर्नु, जाडोमा युक्रेनी नागरिकहरूलाई तातो र पिउने पानीबाट वञ्चित गर्नु भएको पनि उनले बताए ।
रुसी आक्रमणहरूलाई रोक्न युक्रेनलाई थप हवाई रक्षा प्रणालीहरू उपलब्ध गराउन युक्रेनी राष्ट्रपतिले विश्वभरका देशहरूलाई अपील गरेका छन् । जेलेन्स्कीले शुक्रबार वासिंगटनमा ट्रम्पलाई भेट्दै छन् । यस क्रममा दुई नेताहरूबिच युक्रेनलाई नयाँ र उन्नत लामो दूरीको क्षेप्यास्त्रहरू आपूर्ति गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ । यसो भए रुसविरुद्ध बदला लिन युक्रेन अरू बलियो हुनेछ । युक्रेनलाई टोमाहक क्रूज क्षेप्यास्त्रहरू दिने भनेर यसअघि नै ट्रम्पले रुसलाई चेतावनी दिइसकेका छन् ।

                    
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                
            






प्रतिक्रिया