वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन ऐतिहासिक कदम चालेको छ । सोमबार वीरगञ्ज महानगरपालिका कार्यालय, जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्या नेपाल प्रा.लि. बिच करिब चार करोड रुपैयाँको लगानीमा सञ्चालन हुने फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी त्रिपक्षीय सम्झौता सम्पन्न भएको हो । सम्झौता अनुसार महानगरको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा पूर्ण रूपमा निजी लगानीमा फोहोर प्रशोधन प्लान्ट निर्माण गरिनेछ ।
निर्माण कार्य सम्पन्न भएपछि उक्त प्लान्ट वीरगञ्ज महानगरपालिकालाई हस्तान्तरण गरिनेछ। सम्झौतामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, सूर्या नेपालका उद्योग प्रमुख सुरेश काजी श्रेष्ठ र जिरो वेस्ट इनिसिएटिभ नेपालका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात् प्रतिक्रिया दिँदै वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले भने,“ वीरगञ्जलाई फोहोरमुक्त र हरित शहर बनाउने हाम्रो दीर्घकालीन लक्ष्य हो। यो परियोजनाले प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा नयाँ युगको सुरुवात गर्नेछ । अब फोहोरलाई समस्या होइन, स्रोतका रूपमा उपयोग गर्ने दिशामा महानगर अघि बढ्दै छ।”
महानगरले विगतदेखि नै फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएको छ। हाल शहरका सडक, चोक र सार्वजनिक स्थलहरू सफा राख्न सफल भएको छ । यही अभियानलाई थप सशक्त बनाउन डम्पिङ साइटमा निर्माण हुन लागेको नयाँ फोहोर प्रशोधन प्लान्टले शहरभरिबाट सङ्कलित फोहोरबाट प्लास्टिक छुट्याएर पुनः प्रयोगमा ल्याउने र जैविक फोहोरबाट मल उत्पादन गर्ने व्यवस्था मिलाइनेछ । महानगरका अनुसार, यो सम्झौताले फोहोर व्यवस्थापन प्रणालीमा ऐतिहासिक फड्को मार्ने, प्लास्टिकजन्य फोहोर नियन्त्रणमा सुधार ल्याउने र वातावरण संरक्षणमा स्थायी योगदान पुर्याउनेछ ।
सूर्या नेपालका उद्योग प्रमुख सुरेश काजी महर्जनले भने, “यो परियोजना सम्पन्न भएपछि वीरगञ्ज ‘फोहोरमुक्त, स्वच्छ र हरित शहर’ बन्ने दिशामा ठोस र दीर्घकालीन कदम अघि बढ्नेछ। हाम्रो उद्योगले सामाजिक उत्तरदायित्व अन्तर्गत यो लगानी गरेको हो। नाफामुखी व्यापारसँगै हामी समाज र वातावरण दुवैप्रति उत्तरदायी रहन चाहन्छौँ ।”








प्रतिक्रिया