षड्यन्त्रकारीले सत्ताबाट हटाए पनि जनताको हृदयमा एमाले छः पोखरेल

काठमाडौँ, २३ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कुनै षड्यन्त्रकारीले षड्यन्त्रपूर्वक सत्ताबाट हटाए पनि पार्टी जनताको हृदयमा रहेको बताउनुभएको छ । बिहीबार गुण्डुमा एमाले भक्तपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पार्टीले लिएका नीति र गरेका कामले एमाले जनताको हृदयमा बसेको बताउनुभएको हो । ‘अहिले सरकारबाट बाहिरिएका छौं। तर जनताको हृदयमा अहिले पनि नेकपा एमाले छ। कसैले पनि नेकपा एमालेलाई जनताको हृदयबाट अलग गर्न सक्दैन। कुनै षड्यन्त्रकारीको षड्यन्त्रले होला सरकारबाट हामी हट्नु पर्‍यो।

हामीले गरेका कामहरूका कारणले जनताको मनमष्तिस्कमा हामी जनताको हृदयमा बसेका छौं,’ उहाँले भन्नुभयो । पृथ्वी नारायण शाहका पालामा सत्रु राज्यमाथि विजय हासिल हुँदासमेत जीवित रहेका सम्पदा गत भदौ २४ गतेको प्रदर्शनमा आक्रमण गरिएको उहाँले बताउनुभयो । ‘सत्रु राज्यमाथि विजय हासिल गर्दा स्वाभाविक रूपमा आवेश र उत्तेजना हुनसक्छन्, त्यतिबेला पनि हाम्रा सम्पदा जीवित रहेको इतिहास छ।

मुक्ति सेनाले राणा शासनविरूद्ध लड्दा पनि सम्पदाहरूमा क्षति पुर्‍याइएन, हामीले देखेको कुरा हो, सशस्त्र आन्दोलनमा पनि यस्तो तोडफोड, आगजनी भएन,’ उहाँले बताउनुभयो । माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा उल्लेख्य मात्रामा क्षति पुर्‍याउने काम भए पनि १० वर्षको अवधिमा उक्त क्षति भएको उहाँले बताउनुभयो । ‘१० वर्षमा जति क्षति पुर्‍याइयो, २४ गतेका दिन त्योभन्दा कयौं गुणा ज्यादा नेपाल राष्ट्रमा क्षति पुर्‍याइएको छ,’ उहाँले भन्नुभयो । नेपाली जनताले यो अपराधका लागि दण्डित गर्ने उहाँले बताउनुभयो । ‘नेपाली जनताले यो अपराधका लागि दण्डित गर्नुपर्छ। त्यो दण्ड दिने अभियानको नेतृत्व नेकपा (एमाले) ले गर्न चाहन्छ। हामीले त भनेका छौं,’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार  १९ : ०६  बजे