गुडिरहेको गाडीकै सिटमा मृत भेटिए युवक

सुर्खेत । मुगुबाट नेपालगन्ज आउँदै गरेको एक गाडीमा २२ वर्षीय युवक मृत फेला परेका छन् । यो घटना गएराति भएको हो । मृतक जुम्लाको हिमा गाउँपालिका–१, निवासी गणेश रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए । ‎

रावत मुगुबाट सोही गाडीमा चढेर जुम्ला आउँदै थिए। ‎‎प्रहरी नायव उपरीक्षक रेग्मीका अनुसार, रावत ०२००१ ख ११३८ नम्बरको एसएमएल गाडीमा सुतेका थिए । ‎जुम्ला आइपुगेपछि अन्य यात्रुले उठाउन खोज्दा उनी मृत अवस्थामा भेटिएका थिए।

‎‎गाडीमा सवार अन्य यात्रुहरूले सुतिरहेको बाहेक कुनै असामान्य गतिविधि नदेखेको बताएका छन्। ‎परिवारका सदस्यले गणेश रावतलाई खासै गम्भीर बिरामी नभएको तर कहिलेकाहीँ मदिरा सेवन गर्ने गरेको बताए । ‎‎‎अहिले उनको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार  १० : १६  बजे