अविरल वर्षाको कहर : दुई दिनमा इलाममा मात्रै १८ जनाको ज्यान लियो

इलाम । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले कोशी प्रदेशमा ठुलो मानवीय क्षति पुर्‍याएको छ। पछिल्लो दुई दिन (हिजो र आज) गरी १८ जनाको मृत्यु भएको छ, जसमध्ये सबै इलाम जिल्लाका रहेका छन्।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक पोखरेलले उक्त जानकारी दिएका हुन् । प्रहरीले दिएको जानकारीअनुसार  सूर्योदय नगरपालिका-१, मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ ।

त्यस्तै माङसेबुङ गाउँपालिका-१, पाटिगाउँमा ३ जनाको, देउमाई नगरपालिका–५, धारेमा १ जनाको मृत्यु र देउमाई नगरपालिका–५, धुसुनेमा २ जनाको मृत्यु भएको छ । फाकफोकथुम गाउँपालिका–३, रातमाटेस् १ जना र  इलाम नगरपालिका–५, घोसगाउँमा ६ जनाको मृत्यु भएको छ ।

यससँगै इलाम जिल्लामा बाढी पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको हो । अविरल वर्षाका कारण इलामका अन्य क्षेत्रमा पनि क्षति पुगेको हुन सक्ने अनुमान गरिएको छ भने उद्धार तथा राहत कार्यका लागि पहल भइरहेको बुझिएको छ। सुरक्षाकर्मी तथा स्थानीयको टोली प्रभावित क्षेत्रमा परिचालन भइरहेको जनाइएको छ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार  ०९ : ५६  बजे