काठमाडौं, १७ असोज । मकवानपुर प्रशासन कार्यालयले हेटौंडाबाट काठमाडौं जाने सवारी साधनलाई शुक्रबारदेखि चार दिनसम्म राति आवतजावत गर्न रोक लगाएको छ। असोज १७ देखि २० गतेसम्म चार दिन अत्याधिक वर्षाको सम्भावना भएकाले मकवानपुर प्रशासनले हेटौँडा भएर काठमाडौँ आउने बाटोमा रातिको समयमा सवारी आवागमनमा रोक लगाएको हो।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञानद्वारा मौसमको पूर्वानुमान अनुसार मकवानपुर जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेकाले जनधनको क्षति हुन नदिन हेटौंडा–काठमाडौं चल्ने सवारी साधनलाई राति आवतजावतमा रोक लगाएको बताएको छ। त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने, भैसे भीमफेदी हुँदै राजधानी प्रवेश गर्ने तथा कान्ति राजपथसमेतमा यस्तो रोक लगाइएको हो। त्रिभुवन राजपथ र भिमफेदी हुँदै काठमाडौँ पस्ने बाटोमा शुक्रबार अपरान्ह ५ बजेदेखि बिहान ६ बजेसम्म आवतजावतमा रोक लगाइएको छ। कान्ति राजमार्गमा भने शुक्रबार अपरान्ह ४ बजेदेखि बिहान ६ बजेसम्म आवतजावतमा गर्न रोक लगाएको छ। भारी वर्षा हुने सम्भावना रहेकाले धनजनको क्षति हुन नदिन राति सवारी साधन आवतजावतमा रोक लगाइएको हो।








प्रतिक्रिया