दशैँमा ६ लाख ११ हजार बढीले छाडे काठमाण्डौ

काठमाडौं, १५ असोज । दशैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै ६ लाख ११ हजार ६ सय ५७ जनाले काठमाण्डौ छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना शुरू भएको दिनदेखि आजसम्म सो सङ्ख्यामा यात्रु विभिन्न नाकाबाट काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३ सय ९६ जनाले काठमाण्डौ उपत्यका छाडेका छन् । दशैँ शुरू भएसँगै काठमाण्डौ उपत्यका छाड्ने नागरिकको सङ्ख्या तीव्र रुपमा बढ्दै गएको र पछिल्लो २४ घण्टामा मात्र १३ हजार ३ सय २६ यात्रुवाहक सवारी साधन उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

घस्थापनादेखि आजसम्म काठमाण्डौ उपत्यकाबाट बाहिरिएका सवारी साधनको सङ्ख्या एक लाख १३ हजार ४ सय १५ पुगेको छ । यिनै सवारी साधनमार्फत यात्रामा निस्किनेहरुको मुख्य गन्तव्य भने देशका पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्ला रहेका छन् ।

उपत्यकामा ७७ हजार ५ सय ४५ सवारी साधनबाट तीन लाख १९ हजार १५ जना आजसम्म भित्रिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विशेषगरी कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क, जगती लगायतका नाकामा यात्रुको भीड देखिएको छ ।

प्रकाशित मिति: १५ आश्विन २०८२, बुधबार  १९ : २२  बजे