जेन–जी सरकारले मलाई गिरफ्तार गर्ने भन्दै मिडिया ट्रायल गर्न खोज्यो : महेश बस्नेत

काठमाडौं, १३ असोज । नेकपा एमालेका नेता महेश बस्नेतले आफूलाई गिफ्तार गर्न लागिएको भन्दै सरकारले मिडिया ट्रायल गरेको आरोप लगाउनुभएको छ ।

दानवीय प्रवृत्तिहरूको विरुद्ध आफूले आवाज उठाएका कारण सत्ताधारीहरूको सातोपुत्लो गएको हुन सक्ने उहाँको दावी छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै बस्नेतले आफ्नो ज्यानको अन्तिम सास रहुञ्जेल राष्ट्र र राष्ट्रियताको पक्षमा बोलिरहने बताउनुभएको छ ।

उहाँले लेख्नुभएको छ,‘वर्तमान जेनजी सरकारले मलाई गिरफ्तार गर्ने भन्दै मिडिया ट्रायल चलाइरहेको देखिन्छ । कृपया यस्तो कुकर्म नगरेको राम्रो । राष्ट्रियता, लोकतन्त्र र समृद्धिका निम्ति विदेशी दलालहरूले नेपाललाई ध्वस्त पार्न खोजिरहेका दानवीय प्रवृत्तिहरूको विरुद्ध मैले आवाज उठाएको कारण सत्ताधारीहरूको सातोपुत्लो गएको हुन सक्छ । तर यति मात्र भन्न चाहन्छु मैले देश र राष्ट्रियताको पक्षमा सत्य बोलेको छु, र मेरो ज्यानको अन्तिम सास रहुन्जेल पनि त्यसै पक्षमा बोलिरहनेछु ।’

छोटो समयका लागि जेनजी आन्दोलनको नाममा बनेको यो सरकारले अमानवीय र अलोकतान्त्रिक गतिविधि देखाएमाले त्यसको सामना गर्न नेपाली युवा तयार रहेको उहाँले बताउनुभएको छ ।

‘एमालेका अध्यक्षको बासस्थान व्यवस्थापन, सार्वजनिक वक्तव्य, भेटघाट कार्यक्रम, र सचिवालय बैठकको आयोजनामा मैले खेलेको भूमिकाप्रति यो असंवैधानिक सरकार थरथरी कामिरहेको छ । यो मेरो दायित्व हो । र कसैले ह्यारेसमेन्ट गरेर मलाई मेरो दायित्वबाट पन्छ्याउन सक्दैन,’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार  १७ : ४६  बजे