काठमाडौं, १३ असोज । दक्षिण अमेरिकी मुलुक पेरूका जेनजी भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका छन् । सेप्टेम्बर २७ मा राजधानी लिमामा हजारौं युवाले राष्ट्रपति दीना बोलुआर्तेविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्जसँगै अश्रुग्यास पनि प्रहार गरेको छ । जवाफमा युवाहरूले ढुंगा प्रहार गरेका छन् । कतिपय युवाले लाठीचार्जको विरोधमा आगजनीसमेत गरेका छन् । आन्दोलन सेप्टेम्बर २० मा पेन्सन प्रणालीमा गरिएका परिवर्तनपछि सुरु भएको हो ।
नयाँ नियमअनुसार, पेरूमा १८ वर्ष पूरा गरेका हरेक व्यक्तिले कुनै न कुनै पेन्सन कम्पनी/संस्थासँग जोडिनैपर्ने हुन्छ । यसबाहेक, राष्ट्रपति बोलुआर्ते र संसदविरुद्ध लामो समयदेखि जनअसन्तोष बढिरहेको छ । जेनजीले यस आन्दोलनका लागि जापानी एनिमे वन पिसको क्यारेक्टर ‘लूफी’लाई आफ्नो आदर्श बनाएका छन् ।
यो क्यारेक्टर न्यायका लागि लड्ने पात्र हो । यहाँ, भ्रष्टाचार, आर्थिक असुरक्षा, बढ्दो अपराध र जवाफदेहीको कमीले युवाहरूलाई क्रोधित बनाएको छ । २०२२ मा पूर्व राष्ट्रपति पेद्रो कास्तिलोलाई पदच्युत गरी गिरफ्तार गरिएपछि सुरक्षाबलको कारबाहीमा दर्जनौं प्रदर्शनकारी मारिएका थिए ।
यसबारे सरकारलाई अझै प्रश्न गरिँदै आएको छ । पेन्सन प्रदायक भनेका निजी वा सरकारी संस्था हुन्छन् जसले नागरिकसँग मासिक निश्चित रकम संकलन गर्छन् र वृद्धावस्थामा वा अवकाशपछि त्यही रकमलाई पेन्सनको रूपमा फिर्ता दिन्छन् । पेरूको राष्ट्रिय तथ्याङ्क एजेन्सी (आईएनईआई) अनुसार, देशको २७ प्रतिशत जनसंख्या १८ देखि २९ वर्ष उमेरबीचका छन्।
यही युवा यो आन्दोलनको मेरुदण्ड बनेका छन् । धेरैलाई यो जबरजस्ती असुली जस्तो लागेको छ । उनीहरूको प्रश्न छ, ‘युवालाई रोजगारी छैन, पेन्सनका लागि पैसा कहाँबाट जम्मा गर्ने ?’ पेन्सन प्रदायक संस्थामा पहिले नै भ्रष्टाचार र पारदर्शिताको कमी रहेको आरोप लाग्ने गरेको छ ।
नागरिकले यसलाई अनिवार्यभन्दा स्वेच्छिक बनाउनुपर्ने बताउँदै आएका छन् । सरकारलाई रोजगारी, शिक्षा र सुरक्षामा ध्यान दिनुपर्ने, जबरजस्ती पेन्सन थोपर्न नहुने युवा पुस्ताको भनाइ छ । यस आन्दोलनमा पेरूका १८ देखि २९ वर्ष उमेरका युवा अग्रपंक्तिमा छन् । उनीहरूले जापानी वन पिसका क्यारेक्टर ‘लूफी’लाई प्रतीक बनाएका छन् ।
प्रदर्शनकारीले लूफीको चिनारी मानिने खोपडी भएको झन्डा बोकेका देखिएका छन् । विद्यार्थी नेता लियोनार्डो मुन्योस भन्छन्, ‘लूफी जहाँ–जहाँ गयो, त्यहाँका भ्रष्ट र तानाशाही शासकबाट जनता मुक्त भयो । पेरूमासमेत उस्तै अवस्था छ । अब हामी चुप लागेर बस्दैनौं ।’
विद्यार्थी सान्टियागो भन्नुभयो,‘हामी मृत्यु र भ्रष्टाचारलाई सामान्य जस्तै देखाउने अवस्थामा थाकिसकेका छौं। हाम्रो पुस्ता अब चुप लागेर बस्ने छैन। सरकार जनतासँग डराउनुपर्छ, जनता सरकारसँग होइन ।’ वन पिस जापानको प्रसिद्ध कमिक र एनिमे सिरिज हो ।
यसको कथा समुद्री डाकुहरू वरिपरि घुम्छ, जसले स्वतन्त्रता, मित्रता र न्यायका लागि लड्छन् । यो सिरिज विश्वभर युवामाझ निकै लोकप्रिय छ । पेरूको राजनीति अध्यापन गर्ने प्रिन्सटन विश्वविद्यालयका प्राध्यापक जो–मेरी बर्ट भन्नुहुन्छ,‘पेरूमै असन्तोष लगातार बढिरहेको छ, र यो लामो समयदेखि चलिरहेको अवस्था हो ।’
उहाँका अनुसार, यी प्रदर्शनहरू विश्वव्यापी स्तरमा लोकतन्त्रमाथि बढ्दो दबाबबीच भइरहेका छन् । बोलुआर्ते प्रशासनमाथि अदालत, निगरानी संस्था र अभियोजकहरूलाई कमजोर बनाएको आरोप छ । बर्टले यसलाई १९९० को दशकको अल्बर्टो फुजिमोरी शासनसँग तुलना गर्नुभयो ।
त्यतिबेला पनि न्याय प्रणाली नियन्त्रणमा लिएर सत्तालाई बलियो बनाइएको थियो । सन् २०२६ को आम निर्वाचनअघि निर्वाचन संस्थालाई कमजोर पारिने आशंका गरिएको छ । जुलाईमा इन्स्टिच्युट अफ पेरुभियन स्टडिजको रिपोर्टअनुसार, राष्ट्रपति बोलुआर्तेको लोकप्रियता २.५ प्रतिशतमा झरेको छ भने संसदको विश्वसनियता मात्र ३ प्रतिशत रहेको छ ।
प्रदर्शनको असर पेरूको महत्वपूर्ण खानी उद्योगमा समेत परेको छ। पेरू विश्वकै तेस्रो ठूलो तामाको उत्पादक मुलुक हो, साथै सुन र चाँदीको पनि प्रमुख उत्पादक हो । हडबे मिनरल्सले मंगलबार प्रदर्शनका कारण उनीहरूले आफ्नो कन्स्टान्सिया खानीको मिल अस्थायी रूपमा बन्द गर्नुपरेको जानकारी दिएको छ । यसले देशको अर्थतन्त्रमा थप दबाब पार्न सक्ने बताइएको छ । एजेन्सी








प्रतिक्रिया