गण्डकीका मुख्यमन्त्रीको निवासमा फेरि आगजनी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा पुनः आगजनी भएको छ । गएराति साढे २ अज्ञात व्यक्तिहरूले निवासमा आगो लगाएका हुन् । उक्त भवनमा  भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा  पनि तोडफोड र आगजनी भएको थियो ।

मुख्यमन्त्री पाण्डेले आगजनीका कारण बाँकी भएका कागजात जलेर नष्ट भएको बताए । `गेट लगाइएको थियो । पर्खाल चढेर लगाएको हुन सक्छ,´ उनले भने, `केही कागजात बाँकी थिए, सबै जलेछन् ।´  निवास जलेपछि उनी हाल प्रमुख सचिवको निवासमा बस्दै आएका छन् ।

जेनजी प्रदर्शनका क्रममा गण्डकी प्रदेश मातहतका ४८ भवनमा आगजनी र तोडफोड भएको छ । तीमध्ये १३ भवन बस्नै नमिल्ने गरी नष्ट भएको छ भने १६ भवन तत्काल बस्न नमिल्ने खालको छ ।

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार  १६ : २९  बजे