काठमाडौं, १२ असोज । गएको भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीमाथि प्रहरीले निगरानी बढाएको छ । नेपाल प्रहरीले दशैँ, तिहार, छठलगायतका चाडपर्व नजिकिँदै गरेको सन्दर्भमा उनीहरु गाउँघरमा देखिन या भेटिन सक्ने भएकाले नागरिकलाई पनि सतर्क रहन आग्रह गरेको छ । भागेकामध्ये झन्डै आठ हजार जना कैदीहरू कारागार फर्किएका छन् भने अझै छ हजार फरार छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सम्भावित घटना रोक्न जिल्ला प्रहरी कार्यालयलाई आवश्यक पत्राचार भइसकेको छ । सुरक्षाका दृष्टिले कुनै शङ्कास्पद गतिविधि वा भागेका कैदी देखिए तत्काल नजिकैको प्रहरी कार्यालय वा सुरक्षानिकायलाई जानकारी दिन पनि उहाँको आग्रह छ । कारागार व्यवस्थापन विभागले भागेका कैदीहरूलाई यही असोज २० गतेभित्र कारागार फर्कन आग्रह गरेको छ ।








प्रतिक्रिया