काठमाडौंको सिडिओ नियुक्तिमा पूर्वएआईजी लोहनीको चर्को आपत्ति

काठमाडौं, १० असोज । सहसचिव ईश्वरराज पौडेललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाइएकोमा नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिवेश लोहनीले तीव्र आपत्ति जनाउनुभएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक बन्न खोजेका पौडेल सत्ता परिवर्तनसँगै काठमाडौंको सिडिओ बन्नुभएको हो । उहाँलाई सुशीला कार्की नेतृत्वको सरकारले कानुनका ज्ञाता गृहमन्त्री ओमप्रकाश अर्यालको सिफारिसमा सिडिओ बनाएर पठाउनुभएको हो । यस निर्णयपछि सामाजिक सञ्जालमार्फत पूर्व एआइजी लोहनीले पौडेलमाथि खुलेआम प्रहार गर्नुभएको छ । उहाँले फेसबुकमा लेख्नुभएको छ , ‘ल है काठमाडौंमा कार्यरत प्रहरी साथीहरु, मैले जाने बुझेसम्मको सबैभन्दा नालायक, भ्रस्ट, निकृष्ट, अपराधी मनोवृत्तिको फटाहा तपाईँहरूको CDO भएर आएको छ। यो अनुभवहीन जन्तुले फसाउला है, यसको भर नपर्नु, बचेर काम गर्नु होला।’

लोहनी र पौडेलबीचको टकराव पुरानो हो। ३३ किलो सुन प्रकरणको छानबिन समितिको नेतृत्व सहसचिव पौडेलले गर्नुभएको थियो। सो समितिले लोहनीसहितका प्रहरी अधिकृतलाई दोषी ठहर गरेको थियो। त्यसलगत्तै लोहनी जेल चलान भएका थिए। तर, पछि अदालतले उनलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि उनी पुनः जागिरमा फर्किएका थिए।

आफ्नो ब्याचमै अब्बल प्रहरी अधिकृतका रूपमा चिनिएका लोहनी एआईजीसम्मको यात्रापछि अवकाश हुनुभएको हो । तर, पुरानो कटुताले अहिले काठमाडौंको सिडिओ नियुक्तिमा फेरि एकपटक सार्वजनिक रूपमा विस्फोट भएको देखिन्छ।

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार  १९ : १७  बजे