यमनमा इजरायलको सबैभन्दा ठुलो आक्रमण, आठ जनाको मृत्यु

साना । आफ्नो वायु सेनाले यमनमा अहिलेसम्मकै सबैभन्दा ठुलो आक्रमण गरेको इजरायली सेनाले दाबी गरेको छ । हुथी विद्रोहीहरूले बारम्बार गरेको ड्रोन र मिसाइल आक्रमणको प्रतिक्रियामा यो आक्रमण गरिएको उसले बताएको छ ।

दर्जनौँ विमानहरूले राजधानी सानामा रहेको हुथी सुरक्षा र गुप्तचर सेवाहरू र सैन्य अड्डाहरूमा बमवारि गरेको इजरायल रक्षा बल (आईडीएफ)ले बताएको छ ।

इजरायलद्वारा गरिएको आक्रमणलाई हुथी सरकारद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले क्रूर अपराध भनेको छ । आक्रमणले नागरिक र आवासीय भवनहरूलाई लक्षित गरेको र यसमा आठ जनाको मृत्यु भएको मन्त्रालयले भनेको छ ।

इजरायली रेड सी रिसोर्ट इलातमा हुथी ड्रोन आक्रमणमा २२ जना घाइते भएको एक दिन पछि इजरायलद्वारा यो आक्रमण भएको हो । रिसोर्टमा भएको आक्रमणमा दुई जना गम्भीर घाइते भएका थिए ।

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार  ११ : २२  बजे