मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं, ७ असोज । तुइनखोलामा भयंकर सुक्ख पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकमा मंगलबार दिउँसो ३:२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक समेत भासिने जोखिम बढेको चितवनको एसपी गोविन्द पुरीले जानकारी दिनुभयो । एसपी पुरीले भन्नुभयो, ‘तुइनखोलामा अत्यन्तै ठूलो पहिरो खसेको छ ।

सुक्खा पहिरो खसेका कारण सडक नै भासिने जोखिम बढेको छ । जसका कारण तत्कालै सडक खुल्ने कुनै सम्भावना छैन ।’ सडक खुल्न कति दिन लाग्ने भन्ने कुनै निर्क्योल गर्न नसकिने अवस्था रहेको उहाँको भनाइ छ । यसविषयमा निर्णय लिन सडक विभागको टोलीसहित सुरक्षा समितिको बैठक अहिले बसिरहेको एसपी पुरीले बताउनुभयो । सडक नै भासिन सक्ने जोखिमका कारण अहिले सवारीसाधनलाई फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो । पहिरो निरन्तर खसिरहेकोले तत्काल पहिरो पन्छाउन सक्ने सम्भावना नरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार  १८ : ०१  बजे