नारायणगढ-मुग्लिन सडक खण्डमा सवारी सञ्चालन हुन अझै समय लाग्ने

काठमाडौँ : मुग्लिन-नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै खसेको पहिरो पन्छाउन बन्द गरिएको यातायात अझै केही समय यथावत् रहने भएको छ। सडक डिभिजन कार्यालय भरतपुरले सोमबार अपरान्ह सवा ४ बजे सूचना प्रकाशित गरी माथिबाट ढुंगा खसिरहेको पन्छाउन थप १ डेढ घण्टा लाग्ने जनाएको छ।

‘हाल एकतर्फी सञ्चालनमा रहेको सडकलाई पहिरो पूर्ण रूपमा हटाई सडक दुईतर्फी संचालनमा ल्याउनको लागि जिल्ला प्रशासन कार्यालय चितवनको निर्णय अनुसार आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सवारीसाधनहरू रोकी पहिरो हटाउने कार्य निरन्तर सुचारू भैरहेको छ’ कार्यालयले भनेको छ, ‘माथिबाट ढुंगा खस्ने क्रम कायमै रहेकोले अन्दाजी थप १ देखि१स्३० घण्टा लाने अनुमान गरिएको छ। उक्त अवधिभर रोकिने सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहनुहुन समेत अनुरोध गरिन्छ।’

गएको शुक्रबार साँझ ६ बजे तुइन खोलामा पहिरो जाँदा रोकिएको यातायात आइतबार साँझ ५ बजेदेखि एकतर्फी खुलेको थियो। दुईतर्फी नै यातायात सञ्चालन गर्न आज दिउँसो १ देखि ३ बजेसम्म यातायात रोकिएको थियो। यो अवधिमासमेत माथिबाट थप ढुंगा खसेर पहिरो पूर्ण रुपमा सफा नभएपछि सडक डिभिजनले पहिरो पन्छाउने कार्य जारी राखेको छ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार  १७ : १९  बजे