काठमाडौं, ५ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानले बगराम एअरबेस फिर्ता नदिए गम्भीर परिणाम भोग्ने धम्की दिनुभएको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत यदि अफगानिस्तानले बगराम एअरबेस उसको निर्माता अमेरिकालाई फिर्ता नदिए गम्भीर परिणाम भोग्ने बताउनुभएको हो ।
अमेरिकी राष्ट्रपतिले यसअघि पनि बगराम एअरबेस फिर्ता लिने इच्छा व्यक्त गरिसक्नुभएको छ । केही दिनअघि बेलायत भ्रमणका क्रममा उहाँले सरकार अफगानिस्तानको बगराम एअरबेस फेरि प्राप्त गर्ने प्रयासमा रहेको बताउनुभएको थियो ।
यसैबीच अफगानिस्तानका तालिबान अधिकारीले बगराम एअरबेसमा अमेरिकी सम्झौता सम्भव नभएको बताएका छन् । अफगान रक्षा मन्त्रालयका चिफ अफ स्टाफ फासिहुद्दीन फित्रतले अफगानिस्तानको एक इन्च जमिनमाथि पनि सम्झौता सम्भव नभएको प्रतिक्रिया दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
अफगानिस्तानको राजधानी काबुलको उत्तरमा रहेको बगराम एअरबेस तालिबानविरुद्धको २० वर्ष लामो युद्धमा अमेरिकी सेनाको प्रमुख केन्द्र रहेको थियो । अमेरिकी फौजले त्यागेको चार वर्षपछि ट्रम्पले अफगानिस्तानलाई अड्डा फिर्ता नदिए सजाय दिने चेतावनी दिनुभएको हो ।








प्रतिक्रिया