देश जोगाउन खोज्दा ओली सरकार समस्यामा पर्‍यो : मुख्यमन्त्री कँडेल

काठमाडौं, ४ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउन खोज्दा ओली नेतृत्वमा बनेको सरकार समस्यामा परेको दावी गर्नुभएको छ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य रहेका कँडेलले यस्तो दावी गर्नुभएको हो । राष्ट्रिय युवा संघ नेपाल तथा अनेरास्ववियुसँग आज सुर्खेतमा भएको अन्तरसंवादमा उहाँले युवा र विद्यार्थी संगठन मिलेर समाजलाई सकारात्मक दिशामा लैजानुपर्ने बताउनुभयो। उहाँले ‘जेनजी’ पुस्तालाई प्रगतिशील रूपमा संगठित गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री कँडेलले भन्नुभयो, “हामी निर्माण गर्ने पुस्ता हौँ, दर्शक बन्ने होइनौँ भन्ने सन्देश दिन लागौँ। भ्रष्टाचारविरुद्ध आवाज उठाउने, राष्ट्रको पक्षमा बोल्ने र समाजलाई अनुशासित बनाउने जिम्मेवारी युवामाथि छ। गुटबन्दी, विभाजन र स्वार्थी राजनीतिले पार्टी मात्र नभई राष्ट्र कमजोर हुने हुँदा सचेत बनौँ।” उहाँले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउने अडान लिएकै कारण एमाले पार्टी अध्यक्षको नेतृत्वमा बनेको सरकार अप्ठेरोमा परेको बताउनुभयो ।

प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार  २० : ०७  बजे