स्वास्थ्य मन्त्रालयको भवन पनि प्रयोग अयोग्य

काठमाडौं, ४ असोज । जेनजी युवा आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रत भएको स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न जोखिम रहेको अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागको अगुवाइमा नेपाल इन्जिनियर्स एसोसिएसनसहितका प्रतिनिधिहरुले गरेको प्रारम्भिक अध्ययनबाट स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न जोखिम रहेको निष्कर्ष निकालिएको हो ।

नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले स्वास्थ्य मन्त्रालयको भवनका वालहरुमा धेरै क्षति नपुगे पनि स्ल्याबमा धेरै क्षति पुगेको बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रालयको भवन अध्ययन गर्दा लोडबियरिङमा, वालहरुमा त्यति धेरै क्षति नभए पनि स्ल्याबहरु टोटली क्षति भएको अवस्था छ । जसले गर्दा हाललाई यसलाई प्रयोग गर्न अत्यन्त जोखिम छ ।’

नेपालको इन्जिनियरिङ इतिहास र वास्तुशिल्प (आर्किटेक्ट) को हिसाबले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवनलाई विश्वकै नमूना मानिन्छ । संसारकै नामी आर्किटेक्ट लुई कानको शैलीमा पिल्लरविनाको नमुना डिजाइनमा बनाइएको यो भवनमा आर्किटेक्चर र इन्जिनियरिङको अनौठो मेल रहेको प्राविधिकहरु बताउँछन् ।

कुनै समय विदेशबाट समेत विद्यार्थीहरु अध्ययन अवलोकन गर्न आउने स्वास्थ्य मन्त्रालयको यो भवनमा जेनजी युवा आन्दोलनको क्रममा भदौ २४ गते आगजनी भएको थियो ।

आगजनीबाट क्षतिग्रस्त संरचनाहरुको शहरी विकास तथा भवन निर्माण विभागसँगको समन्वयमा नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट, इलेक्ट्रिकल इन्जिनयर्स सोसाइटी, मेकानिकल इन्जिनियर्स सोसाइटीलगायतका प्रतिनिधिहरु सम्मिलित टोलीले अध्ययन गरिरहेको छ ।

सोही अध्ययनको क्रममा यसअघि सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, नेपाल बार एसोसिएसन र नेपाल गुणस्तर तथा नापतौल विभागका भवनहरू तत्काल प्रयोग गर्न नमिल्ने निष्कर्ष निकालिएको थियो । प्रयोग अयोग्य ठहर गरिएका भवनहरुमा खतराको संकेत स्वरुप रातो स्टिकर टाँसिएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार  १५ : ३०  बजे