गण्डकी सरकारले गाँजा खेतीसम्बन्धी कानुन संसद्‌मा पठायो

पोखरा । गण्डकी प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी विधेयक संसद्‌मा दर्ता गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले विधेयक संसदमा पठाउन सहमति दिएको हो । अर्थमन्त्री तथा प्रवक्ता डा. टकराज गुरुङले विधेयक संसद्‌मा पठाउन सहमति दिइएको जानकारी गराए ।

प्रदेश सरकारले घरेलु मदिरा ब्राण्डिङ गर्ने विधेयक संसद्‌बाट पारित गरिसकेको छ । अब गाँजा खेतीलाई पनि वैधानिकता दिन प्रयत्न गरिएको हो । कडा नियम राखेर गाँजा खेतीलाई व्यावसायिक उत्पादनका लागि अनुमति दिने गरी विधेयक तयार गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले वृत्तिमुखी उद्यमशीलता र रोजगार प्रवर्द्धन कार्यक्रमका लागि कार्यविधि संशोधन गरेको छ । यो वर्ष हुप्सेकोट, जलजला, बडिगाढ र म्याग्देमा सञ्चालन सुरु भएको छ । पालिका, प्रदेश र सहयोगी संस्थाले सहयोग गरेर कार्यक्रम गर्ने गरी यसलाई संशोधन गरिएको हो ।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार  १६ : ५४  बजे