सिमामा उच्च सतर्कता अपनाउन सशष्त्र डिआईजी ढकालको निर्देशन

रौतहट, २ असोज । सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दीबास, महोत्तरीका बाहिनीपति डिआईजी कृष्ण ढकालले सीमाक्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिनुभएको छ । आज प्रस्तावित सीमा सुरक्षा गुल्म गौरको निरीक्षण गर्दै उहाँले सीमाबाट हुने अवैध ओसारपसार, चोरी–तस्करी तथा लागुऔषध कारोबारलाई पूर्णरूपमा नियन्त्रण गर्न आदेश दिनुभएको हो ।

जेनजी आन्दोलनपछि जिल्लाको शान्ति–सुरक्षाको अवस्था बुझ्न तथा सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउन उहाँ रौतहट पुग्नुभएको थियो । डिआईजी ढकालले गौरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मको नवनिर्मित भवन चाँडै उद्घाटन गरिने जानकारी समेत दिनुभएको थियो ।

उहाँले सीमाक्षेत्रमा हुने सक्ने अवैध गतिविधिको सूक्ष्म निगरानी गर्न, समाजको सुरक्षाका लागि अहोरात्र खटिन तथा आफ्नो पदीय दायित्व त्रुटिरहित ढङ्गले पूरा गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभयो । उहाँले परिस्थितिअनुसार आवेग र उत्तेजनालाई नियन्त्रण गरी विवेकपूर्ण ढंगले कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै, सुरक्षाकर्मीहरूले एक निर्भीक, इमानदार र वफादार राष्ट्रसेवकको रूपमा खटिनुपर्ने निर्देशन दिएको जानकारी दिनुभयो ।

रौतहटमा हालैको जेनजी आन्दोलनपछि सुरक्षाको सवाल अझै संवेदनशील बनेको छ । आन्दोलनका क्रममा सरकारी सम्पत्तिमा आगजनी र लुटपाट भएका घटनाले सीमाक्षेत्रलाई पनि जोखिमपूर्ण बनाएको छ । यस्तो पृष्ठभूमिमा डिआईजी ढकालको सीमा व्यवस्थापन र तस्करी नियन्त्रणसम्बन्धी निर्देशनलाई महत्वपूर्ण मानिन्छ ।

भारतसँग खुला सिमा भएको कारण रौतहटमा अवैध कारोबार र लागुऔषध तस्करीको जोखिम बढी हुने गरेको छ । त्यसैले सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउँदा मात्र यस्तो गतिविधि नियन्त्रणमा आउन सक्ने देखिन्छ । साथै, सुरक्षाकर्मीहरूको मनोबल बढाउने र जिम्मेवारीपूर्वक खटिन प्रेरित गर्ने उहाँको सन्देशले जिल्लाको समग्र शान्ति–सुरक्षा सुदृढ पार्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार  १५ : ०२  बजे