जेनजी आन्दोलनमा आगजनी भएका सम्पत्ति रक्षाका लागि दमकल पठाउँदा ढुंगामुढा भएपछि पछि हट्यौँ : राजुनाथ पाण्डे

काठमाडौं, २ असोज । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेनजी आन्दोलनकारीले आगजनी गरेका सम्पत्ति जोगाउन दमकल प्रयोग गर्न खोज्दा ढुंगामुढा भएपछि तत्काल आगो निभाउन नसकिएको बताएका छन् ।

महानगर प्रहरीले बोलाएको ठाउँमा समयमै दमकल नपठाएको कारण देशले ठूलो क्षति व्यहोर्नुपरेको जनगुनासो आएसँगै महानगर प्रहरी प्रमुख पाण्डेले यस्तो बताएका हुन् । बिहीवार बागदरबारमा पत्रकार सम्मेलन गर्दै उनले आन्दोलन, आगजनी र तोडफोड भएका कारणले दमकल सडकमा निस्किन नसकेको र २४ गते साँझ बौद्धबाट निस्किन खोज्दा चाबहिलमा आएपछि दमकलमाथि नै ढुंगामुढा भएको र नेपाली सेनाको गाडीमा पनि ढुंगामुढा भएको बताए ।

राति सवा ८ बजेदेखि पौने १० सम्म सिंहदरबारमा दुई वटा दमकल लगेर आगो निभाएको स्पष्ट पारे। नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिएसँगै आगो निभाउन सहज भएको उनको भनाइ छ । भाटभटेनी, हिल्टन, सर्वोच्च अदालत, सिंहदरबारमा पनि दमकल परिचालन गरेको उनको भनाइ छ । दमकल जानसक्ने अवस्थामा महानगरले ढिलाइ नगरेको स्पष्टोक्ति छ । सुरक्षाको प्रत्याभूतिको आधारमा दमकल सुरक्षित रहेर उपयोग गरिएको बताए ।

महानगर प्रहरीले घाइतेको उपचार, खानपानको व्यवस्थामा समेत खटिएको दाबी गरे । महानगरपालिकाले उपत्यकामा ५ वटा दमकल परिचालन गरेको बताए ।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार  १२ : १७  बजे