घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं, १ असोज ।  घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएको छ ।यातायात व्यवस्था विभागमा हिजो बसेको सरोकार भएका निकायको बैठकले दसैँको समयमा सार्वजनिक यातायातलाई सहज ढङ्गले सञ्चालनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको हो । बैठकले चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवा प्रदायकले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको छ ।यस्तै, यातायात व्यवसायीले टिकट बिक्रीमा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुवाहक सवारीसाधनको सरोकार भएका निकायसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने निर्णय गरिएको छ ।सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य टिकट लिएर मात्र यात्रा गर्ने र टिकट काउन्टरबाट यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्नुपर्ने पनि बैठकको निर्णय छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले अनधिकृत काउन्टर, परिचयपत्र, पोसाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतयाः नियन्त्रण गर्ने निर्णय भएको जानकारी दिनुभयो । सार्वजनिक यातायात आवागमन सहज बनाउन खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्नेबाहेकका ट्रेलरलगायत ठूला सवारीसाधन घटस्थापनादेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय पनि भएको उहाले बताउनुभयो ।

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार  ०७ : ३३  बजे