काठमाडौं, ३१ भदौ । नेकपा (एमाले) का नेताहरूले जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलगायत क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको अवलोकन गरेका छन् ।
आज पार्टीका निवर्तमान सांसदहरूले देशको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार, राष्ट्रपति भवन, संसद् भवन, सर्वोच्च अदालतलगायतका क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको अवलोकन गरेको सचिव गोकर्ण विष्टले बताउनुभयो । सार्ववजनिक संरचनाहरूमा आगजनी र तोडफोड गर्ने ‘जेन–जी’ पुस्ताको चाहना हुन नसक्ने भन्दै आन्दोलनमा घुसपैठ भएको उहाँले आशङ्का गर्नुभयो ।
घटनाको सत्यतथ्य छानबिन गरी तोडफोड र आगजनीमा संलग्नहरूलाई आवश्यक कारबाही गर्न एमाले सचिव विष्टको माग छ ।
उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभाका निवर्तमान प्रतिनिधि र नेताहरूले सिंहदरबारको मुख्य कार्यालयसहित क्षतिग्रस्त संरचनाहरूको अवलोकन गर्यौँ । धेरैजसो ठाउँमा संरचनाहरू ध्वस्त भएका छन् । सिंहदरबारमा रहेका ऐतिहासिक दस्तावेजहरू समेत ध्वस्त भएको हामी अनुमान गर्न सक्छौँ । यो अवस्था निकै दुःखदायी छ । भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्ने जेन–जी पुस्ताको यो चाहना थिएन होला । यसमा को को शक्तिहरू घुसे र के कारणले यस्ता घटनाहरू घटे भन्ने विषयमा छानबिन गर्नुपर्छ ।’
सचिव विष्टले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । युवा पुस्ताको चाहना अनुसार राजनीतिक दलहरू परिमार्जन हुने कुरालाई सबैले गम्भीर रूपमा लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रतिक्रिया