काठमाडौं, ३१ भदौ । सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीद्वय रामेश्वर खनाल र कुलमान घिसिङले सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुभयो । मन्त्रीहरुले सरकारी सुविधा र तलबभत्ता नलिने घोषणा गर्दा कतिपयले प्रशंसा पनि गरेका छन् । तर यसप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विप्लवको भने फरक धारणा छ । उहाँले यसलाई ‘जनतामा भ्रम छर्ने’ अभिव्यक्ति भनेर व्याख्या गर्नुभएको छ । सुशीला कार्की नेतृत्वको सरकार विस्तार हुँदै गर्दा विप्लव कपिलवस्तुमा शहीद परिवारलाई घर हस्तान्तरण कार्यक्रममा व्यस्त हुनुहुन्थ्यो। सो कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भन्नुभयो, ‘मन्त्रीहरुले आज (सोमबार) भाषण गरेको सुनेँ– म चाहिँ तलब लिदिनँ भनेर । तलब नलिएर के खान्छ ? माटो खान्छ तेले ?’
विप्लव यत्तिमै रोकिएनन् । उहाँब्ले थप व्याख्या गर्दै भन्नुभयो , ‘त्यो भनेको त कतैबाट त्यसले कमाको छ नि त । ‘यो घमण्ड हो के । यो त जनतामा भ्रम छर्ने कुरा हो ।’
यस्ता अभिव्यक्ति दिने व्यक्तिले कुनै बेला अकुत सम्पत्ति कमाएको हुनसक्ने विप्लवको बुझाइ छ । त्यसैले उहाँले भन्नुभयो , ‘त्यसले के देखाउँछ भने त्यसले कुनै बेला अकुत सम्पत्ति कमाएको छ भन्ने सावित गर्छ ।’
उहाँले यस्ता व्यक्तिहरुले जनतालाई भ्रम छर्ने र आफ्नो स्वार्थ सिद्ध गर्ने गरेको सुनाए । ‘हेर्नुस् धेरै कुराहरु छ के । जनतालाई भुलभुलैयामा पार्ने, उचाल्ने, पछार्ने, आफ्नो स्वार्थ सिद्ध गर्ने अनि देशलाई तल पार्दिने,’ विप्लवले भन्नुभयो । उहाँले यस्ता खेल नखेलेर जनताको जीवनमा परिवर्तन आउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । ‘हाम्रो देशलाई असल बाटोमा हिँडाएर सबै जनताले हाम्रो जीवनमा परिवर्तन आयो, राम्रो भयो भन्ने बनाउनेतिर सोच्नुपर्छ,’ उहाँले भन्नुभयो । विप्लवले नेताहरु जनतातिर नफर्किएको र कार्यकर्तालाई उत्पादनसँग नजोडेकोमा असन्तुष्टि ब्यक्त गर्नुभयो । ‘नेताहरु आफ्नो श्रम गर्नेतिर फर्केनन्, आफ्नो पार्टी र कार्यकर्तालाई उत्पादनतिर लगाएनन्,’ विप्लवले भन्नुभयो, ‘सजिलै पैसा खोज्दै हिँड्दाखेरि विदेशीको एजेन्ट भएका छन् ।’
कार्यक्रममा विप्लवले अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरुलाई ‘राम्रो काम’ गर्न शुभकामना दिनुभयो । ‘सुशीलाजीलाई हाम्रो यो पनि शुभकामना छ, राम्रो गर्नुस् न । आइहाल्नुभयो तपाईंले गर्नुस् न, अरु मन्त्रीहरुले पनि राम्रो गर्नुस्,’ उहाँले भन्नुभयो, ‘तर यसको मतलव अर्कोको टाउकोमा दोष थोपरेर आफूलाई सही देखाउने कुरातिर होइन । राम्रो गर्ने तिरबाट सोच्नुपर्छ ।’
विप्लवले सोमबार बेलुका नै एक भिडियो सन्देश सार्वजनिक गर्दै सुशीला कार्की नेतृत्वको सरकारको बनोटप्रति विरोध जनाउनुभएको थियो । ‘विद्रोह जेन–जीको तर सरकार जेन–एक्सको’ भएको टिप्पणी उहाँले गर्नुभयो ।
प्रतिक्रिया